Home खेलकुद ‘‘प्रशिक्षण गर्ने वातावरण नै मिलेको छैन’

‘‘प्रशिक्षण गर्ने वातावरण नै मिलेको छैन’

सञ्जय महर्जन, क्रिकेट प्रशिक्षक

कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण २०७६ साल चैत ११ गतेदबाट लकडाउन घोषणा गरेदेखि रोकिएको क्रिकेट खेलको नियमित प्रशिक्षण हेटौंडामा केहीदिनबाट सुचारु भएको छ । नियमित प्रशिक्षणका लागि खेलाडीहरुले नै चिन्ता व्यक्त गरेपछि सुरक्षा सतर्कताका साथ नियमित प्रशिक्षण सुरु गरिएको छ । लकडाउन घोषणा गर्नु भन्दा अगाडिको समयको तुलना आधा सङ्ख्यामा मात्रै खेलाडी सहभागी भइरहेको प्रशिक्षक सञ्जय महर्जन बताउनुहुन्छ । क्रिकेट खेलको नियमित प्रशिक्षण सुचारु गरिएको सन्दर्भमा समाज सम्पादक सुरेश श्रेष्ठले क्रिकेट प्रशिक्षक सञ्जय महर्जनसँग गर्नुभएको कुुराकानीः

समाजः ७ महिनापछि क्रिकेट खेलको प्रशिक्षण सुचारु गर्नुभएको छ । कहिलेदेखि र कसरी प्रशिक्षण सञ्चालन गर्दैहुनुहुन्छ ?
महर्जनः यो कोरोनाको महामारी सुरु भएदेखि राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षण नगर्नु भनेको हुनाले हामीले त्यतिबेलादेखि नै प्रशिक्षण रोकेका थियौं । खेलाडीहरुको भविष्य डामाडोल हुने देखिएपछि अब के कसरी गर्ने भनेर खेलाडीहरुले सोधी रहेकाले हामीले २ हप्ता अघिदेखि प्रशिक्षण सुरु गरेका हौं । अहिले २० जना खेलाडीहरु नियमित प्रशिक्षणमा सहभागी छन् । जसमध्ये १ जना महिला र १९ जना पुरुष रहेका छन् । बिहान र बेलुका गरी प्रशिक्षण गराइरहेका छौं । प्रधानमन्त्री कप मङ्सिर महिनामा हुन्छ भनेर तोकिसकेको हुनाले त्यसका लागि प्रशिक्षण सुरु गरेका छौं ।

समाजः प्रशिक्षणस्थलमा तपाईहरुले के कस्तो सतर्कता अनाइराख्नु भएको छ ?
महर्जनः हामीहरुले पहिला सुरुमा मास्क लगाएर प्रशिक्षण गराइरहेका छौं । भौतिक दूरी क्रिकेटमा फिल्डिङ् व्याटिङ् गर्दा त्यसमा दूरी कायम भइहाल्छ । हामीले कुलडाउन गर्ने, फिजिकल फिटनेश गर्दा भौतिक दूरी कायम गरेरै प्रशिक्षण गराइरहेका छौं ।

समाजः लकडाउन हुनुभन्दा अगाडि र अहिले प्रशिक्षणमा आउने खेलाडीको संख्यामा घटी–बढी कस्तो अवस्था छ ?
महर्जनः खास हामीले यो भन्दा अगाडि एउटा सेलेक्सन म्याच भनेर राखेका थियौं । तीनवटा म्याच गराउँदा खेलाडीहरु धेरै थियो । त्यसबेला हाम्रो बागमती प्रदेशस्तरीय खेल खेलाउने भनिएको थियो । त्यसको तयारी हुँदा हामीसँग ४०/५० जनाको हाराहारीमा खेलाडी थिए । अहिले २० जना छन् । टाढा–टाढाका खेलाडीहरु, जिल्ला बाहिरका खेलाडी पनि यहाँ बस्दा प्रशिक्षणमा सहभागी हुन्थे । जिल्ला बाहिरका खेलाडी अहिले आफ्नो जिल्लामा छन् । उनीहरु आउन पाएका छैनन् ।

समाजः अहिले तपाईहरुले नियमित प्रशिक्षण गरी राख्नु भएको छ । यो मुख्यगरी प्रधानमन्त्री कपको तयारीको रुपमा हेरिराख्नु भएको हो ?
महर्जनः यो प्रधानमन्त्री कपको तयारी पनि भन्नुपर्‍यो र खेलाडीहरु अब घरमा बसेर आफैंले सामान्य अभ्यास गर्दा पर्याप्त नहुने भएकोले उनिहरुको भविष्य नै जोखिममा पर्ला भनेर पनि प्रशिक्षण सुरु गरिएको हो । १९ वर्ष समूहमा खेल्नुपर्ने खेलाडीहरुले यो वर्ष खेल्न नपाउने भइसक्यो । अब सिनियरको लागि धेरै मिहिनेत गर्नु पर्छ भनेर आफैंले सोचिसकियो । अब हामी खेल्नु पर्छ भनेर उनीहरुले आफैं पनि चिन्तित भएर प्रशिक्षणमा सहभागी भएका छन् ।

समाजः प्रतियोगिता हुने सम्भावनास्वरुप त्यसको तयारीका लागि पनि प्रशिक्षण हुँदैछ । जिल्लामै पनि प्रतियोगिता आयोजना गर्ने तयारी केही हुन सक्छ ?
महर्जनः अब खासमा प्रशिक्षण गर्ने वातावरण नै मिलेको छैन । तर पनि हामीहरुले जबर्जस्ती प्रशिक्षण गरिरहेका छौं । किनकि चौर हेर्न जाँदा झाडी बढेको छ । भर्खरै फोहोरहरु जलाएर रोलर लगाई क्रिकेट सुरु गरेका छौं । नगरपालिका, स्थानीय सरकार, वडा कार्यालयले मद्दत गरिदिएको भए हामीलाई सजिलो हुन्थ्यो । हामीलाई काठमाडौं, चितवनले म्याच खेल्नका लागि फोन गरिरहेको छ । तर बोलाउन पनि सकिँदैन । किन कि हामीसँग खेल मैदान छैन । भएको एउटा ग्राउण्ड पनि गाई–भैंसी चराउने जस्तो हालत भएको छ ।

समाजः खेलाडीको मनस्थिति कस्तो देख्नुभएको छ ?
महर्जनः अस्ति मैले प्रशिक्षण गराइरहेको थिएँ । हामीले केजमा खेल्यौं । केज हाम्रो पूर्णरुपमा तयार भएको छैन । केजमा मात्र खेल्दा स्ल्याबमा बल आउँछ अरु पिचमा जाँदा ट्रफहरुमा खेल्दाखेरी रोकिएर आउँदाखेरी खेलाडीहरुको मनस्थिति अनुसारको ट्रफमा खेल्नुपर्छ भनेर ट्रफमा सुरु गर्न लागेको हो । तर यसका लागि कसैले सहयोग गरेको छैन । खेलाडीहरु आफैले सामान किन, बल किन, आफैंले गर सहयोग कतैबाट छैन । कमसेकम स्थानीय सहयोग दाताहरु पनि हुनुपर्छ । खेल्ने उत्साह बढाउन सकिएको छैन ।

समाजः तपाईहरुले सहयोगका लागि कहाँकहाँ पहल गर्नुभयो ? प्रदेश सरकारसँग तपाईहरुले केही प्रस्ताव गर्नुभएको छ ?
महर्जनः हामीलाई नगरपालिकाले सहयोग गर्ने हो । तर, मुख्य कुरा केन्द्रबाट केही पनि सहयोग छैन । ग्राउण्डका लागि मुख्यमन्त्री मार्फत हामीले गएका थियौं । गौरीटारमा डिपिआर तयार भएको छ । तर त्यहाँ फुटबलको अन्तर्राष्ट्रिय ग्राउण्ड हुने भएकोले त्यहाँ अलिकति गाह्रो हुने भयो । त्यसपछि पिप्लेमा ग्राउण्ड दिने कुरा भयो । हामीलाई १४ नम्बर वडा अध्यक्षले जग्गा छ, हेर्न आउनु भन्नुभएको थियो । तर जग्गा सानो भएको हुनाले हामीलाई उपयुक्त भएन । राम्रो विकल्प भनेको हुप्रचौर मात्र रहेको छ । त्यसलाई सकेसम्म मर्मत गर्न पाए भने हामीलाई खेल्नयोग्य, कम से कम जिल्लास्तरीय प्रतियोगिता गर्न पाउने थियौं ।

Exit mobile version