Home कला आँचलको आयोजनामा भवानीका मुक्तक वाचन

आँचलको आयोजनामा भवानीका मुक्तक वाचन

हेटौंडाः आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा मुक्तककार भवानी न्यौपाने तिमल्सिनाको मुक्तक वाचन कार्यक्रम शनिबार भर्चुअल माध्यममार्फत भएको छ । आँचल साहित्य कला पुञ्जको मासिक कार्यक्रम प्रत्येक महिनाको तेस्रो शनिबार सञ्चालन हुँदै आएको छ । विशेषगरी महिला साहित्यकारहरू मात्र उपस्थित हुने कार्यक्रम भर्खरै लेखनमा लागेका महिलाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालनमा रहेको छ ।

साहित्यकार उषा शेरचनको प्रमुख आतिथ्य तथा साहित्यकार प्रभा बरालको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा भवानी न्यौपाने तिमल्सिनाको मुक्तकहरू माथि समिक्षा गर्दै मुक्तककार गौरी तमुले लेखेर नै इतिहास रचिने भएको हुँदा लेख्नु पर्ने र त्यसलाई कृतिको रुपमा पाठक सामु ल्याउनु पर्ने कुरामा जोड दिनुभयो ।

साहित्यमा साहित्यकारले आफैँसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले लेखनमा साहित्यकारको आफ्नै अनुहार आउनु पर्ने कुरा व्यक्त गर्दै साहित्यकार उषा शेरचनले गृहणी र जागिरे जीवनलाई यथावत सञ्चालन गर्दै मन, मस्तिष्कलाई छुन सक्ने साहित्य रचना गर्नु महिलाहरूका लागि चुनौती रहेको कुरा व्यक्त गर्नुभयो । चुनौतीका बीचबाटै सफलता प्राप्ति हुने हुँदा निरन्तर लेखनीमा लाग्न र अध्ययनशील हुन समेत उहाँले आग्रह गर्नुभयो ।

समालोचक कुमारी लामा, आँचलकी संस्थापक अध्यक्ष मुना अर्याल, गजलकार अम्बिका कार्की, कवि सुमित्रा सुमी, अनिता अर्याल नेपाल, ज्योत्सना श्रेष्ठ, एलिजा पुडासैनी, सविता तिमल्सिना, भावना सापकोटा, सिर्जना पौडेल, जयन्ती आचार्य लगायतले रचना वाचन गर्नु भएको कार्यक्रम संस्थाकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको थियो । साथै संस्थाकी सहसचिव नीरा शर्माले कार्यक्रम माथि प्रकाश पार्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्नु भएको थियो ।

Exit mobile version