स्मृतिलाई सहयोग रकम हस्तान्तरण गर्नुहुँदै वडा अध्यक्ष गोकर्णप्रसाद पराजुली ।

हेटौंडाः हेटौंडा–११, थानाभर्‍याङकी १६ वर्षीया स्मृति पोखरेललाई नर्सिङ पढ्न नगद सहयोग गरिएको छ । यस वर्षको एसईईमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण गरेकी उनलाई शनिबार चिनी लामा प्रतिष्ठानले पोखरेललाई नगद एक लाख रुपैयाँ सहयोग गरेको हो ।

नर्सिङ पढ्ने ठूलो चाहना बोकेर पनि आर्थिक समस्यामा रहेकी उनलाई शनिबार हेटौंडा–११ स्थित विपन्न सहकारी संस्थामा अनौपचारिक कार्यक्रमबीच रकम हस्तान्तरण गरिएको हो । ११ नम्बर वडा अध्यक्ष गोकर्ण पराजुलीको प्रमुख आतिथ्य तथा नेपाल सुनचाँदी व्यवसायी महासंघ बागमती प्रदेश अध्यक्ष ज्योतिरत्न बज्राचार्यलगायतको आतिथ्यमा कार्यक्रम भएको हो । स्मृतिलाई कोषका संरक्षक दुर्गामान शाक्य, बज्राचार्य र वडाध्यक्ष पराजुलीलगायतले नगद हस्तान्तरण गर्नुभएको थियो ।

काठमाडौं–६, बौद्ध, फूलबारीका समाजसेवी सूर्यवज्र लामाले आमाको स्मृतिमा स्थापना गरेको कोषले मकवानपुरका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । आर्थिक अभावका कारण भविष्यकी एक कर्णाधारको सपनामा ठेस नपुगोस् भनेर थोरै भए पनि सहयोग गरिएको प्रतिष्ठानका अध्यक्ष कमलचन्द्र सुमनले बताउनुभएको छ । नर्स बन्ने सपना पूरा गर्न अब उनी र उनको परिवारमा थप ऊर्जा प्राप्त भएको छ ।