सचिव तेजराज भट्टलाई मायाको चिनो दिएर विदाई गर्नुहुँदै राष्ट्रसेवक कर्मचारी मिलन केन्द्र मकवानपुरका अध्यक्ष रामकृष्ण थापा (दायाँ) र बद्रिबहादुर पाठक (बीचमा) ।

हेटौंडाः बागमती प्रदेश सरकारको भौतिक पूर्वधार विकास मन्त्रालयका सचिव तेजराज भट्टको सरुवा भएको छ । भट्टको केन्द्र सरकारको खानेपानी मन्त्रालयमा सरुवा भएको हो । आइतबार बागमती प्रदेशको भौतिक विकास मन्त्रालय र राष्ट्रसेवक कर्मचारी मिलन केन्द्र मकवानपुरले उहाँको विदाई गरेको छ ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले सचिव तेज भट्टलाई विदाई गर्नुभएको छ । होम क्वारेन्टिनमा रहनुभएका मन्त्री फुँयालले अनलाइनमार्फत नै सचिवको विदाई कार्यक्रमलाई सम्बोधन गर्नुभयो । मन्त्री फुँयालले सचिव भट्टले सकारात्मक सोचका साथ काम गर्नुभएको बताउनुभयो । कुलेखानी-भीमफेदी सुरुङमार्ग निर्माणका लागि परामर्शदाता छनोट गर्न मन्त्रालयले बोलपत्र निकाल्न सचिव भट्टको मुख्य भूमिका रहेको मन्त्री फुँयालले बताउनुभयो ।

सचिव भट्टले आफु विदाई हुँदै गर्दा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा आएदेखि नै मुख्यमन्त्री लगायत सम्पूर्ण मन्त्री तथा प्रदेश सांसदहरुले साथ र सहयोग रहेको भन्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।