खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गरेको भुटनदेवी माविलाई पुरस्कृत गरिँदै ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजना र शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा सम्पन्न ‘तेस्रो वडा खेलकुद महोत्सव’ का विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ । हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा आइतबार एक कार्यक्रमका बिच खेलकुद महोत्सवमा विजयी विद्यालय, विद्यार्थी तथा शिक्षकलाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिएको हो ।

गत पुस र माघ महिनामा सञ्चालित विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको हो । महोत्सवअन्तर्गत नगरस्तरीय छात्र फुटबल, भलिबल, क्रिकेट, बास्केटबलका विजेता र उपविजेता विद्यालय तथा विद्यार्थीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । ४ नम्बर वडाका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी सहभागी भएको निबन्ध लेखन, वादविवाद, कविता लेखन, नेपाली हिज्जे, वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

वडा भित्रका सामुदायिक तथा संस्थागत विद्यार्थीको सहभागितामा भएको विभिन्न एथ्लेटिक्स प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पनि मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ । एथ्लेटिक्सतर्फ सिनियर र जुनियर छात्र तथा छात्राको विभिन्न दुरीको दौड, लङ्जम्प, ट्रिपलजम्प तथा सटपुट प्रतियोगिता भएको थियो ।

कक्षा ८ मा ४ जीपीए हासिल गरेका विद्यार्थीलाई पुरस्कृत गरेपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडाका सामुदायिक तथा संस्थागत विद्यालयबाट २०८२ सालको आधारभूत तह (कक्षा ८) को परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी, उनीहरूका अभिभावक र शिक्षकलाई सम्मान गरिएको थियो । अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक, स्वास्थ्य तथा शारीरिक, हाम्रो हेटौँडा विषयमा उच्चतम अङ्क ल्याउने विद्यार्थी तथा सम्बन्धित शिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । परीक्षामा ४ जीपीए ल्याउने विभिन्न विद्यालयका ११ जना विद्यार्थीलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दहालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमका विशिष्ट अतिथि एवम् हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलले वडाले शिक्षा र खेलकुदलाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौँडा शाखाका प्रमुख बद्री पाठक, १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामा, ११ नम्बर वडा अध्यक्ष जुना दहाल, ४ नम्बर वडा सदस्य गीता गौतम त्रिपाठी, ४ नम्बर वडा सचिव रामप्रसाद गुरागाईंलगायतको आतिथ्य थियो । कार्यक्रममा वडाभित्रका विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षकहरुको भुटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।