शिविरमा स्वास्थ्य परीक्षण गरिँदै ।

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा अपाङ्गता भएकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतबार बागमती गाउँपालिकाको आर्थिक सहयोग तथा मकवानपुर अपाङ्ग उत्थान समाजको आयोजनामा शिविर सञ्चालन भएको हो ।

बागमती–४, झुरझुरेस्थित सामुदायिक आँखा केन्द्रमा भएको शिविरमा ६० जनाले सेवा लिएको मकवानपुर अपाङ्ग उत्थान समाजका सचिव कान्तिराज मैनालीले जानकारी दिनुभयो । सचिव मैनालीका अनुसार शिविरमा फियोथेरापी, हाडजोर्नी तथा नाशाको परीक्षण गरिएको थियो । शिविरमा स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको थियो । शिविरमा स्वास्थ्य परीक्षण गरेकाहरु मध्येबाट ५ जनालाई बनेपाको अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रमा उपचारका लागि सिफारिस गरिएको उहाँले बताउनुभयो । उनीहरूको सम्पूर्ण उपचार खर्च बागमती गाउँपालिकाले व्यहोर्ने छ ।