हेटौँडा : परिवारकै सहमतिमा बालबालिका आफैँले बालबिवाह गरिरहेकोले बालबिवाह न्यूनीकरण गर्न चुनौती बनेको सरोकारवालाहरुले जनाएका छन् । शुक्रबार हेटौँडामा आयोजित बागमती प्रदेशमा बालबिबाहको अवस्था, बाल न्यायको अवस्था र बालविवाह अन्त्यका लागि न्याय क्षेत्रको भूमिका विषयक अन्तरक्रियामा बोल्दै बालबालिकाको क्षेत्रमा कार्यरत सरोकारवाला संस्थाहरुले बालविवाहको समस्याबारे बताएका हुन् ।

कार्यक्रममा प्रस्तुत एक तथ्याङ्क अनुसार बागमती प्रदेशमा २९.३ प्रतिशत बालविबाह हुने गरेको छ । सबैभन्दा धेरै मधेस प्रदेशमा ४२.४ प्रतिशत बालबिवाह हुने गरेको पाइएको र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २९.१ प्रतिशत बालविवाह हुने गरेको तथ्याङ्क प्रस्तुत गरिएको छ । यस्तै, राष्ट्रिय जनगणता २०७८ अनुसार १० देखि १४ वर्ष उमेर समूहका ७ प्रतिशत, १५ देखि १७ वर्ष उमेर समूहका २२ प्रतिशत र १८ देखि २० वर्षसम्मका ३४ प्रतिशतले बालविवाह गर्ने गरेको तथ्याङ्क छ । कार्यक्रममा स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदन २०७९/०८० अनुसार १५ देखि १९ वर्ष उमेर समूहका १७ प्रतिशत आमा बनिसकेको जनाइएको छ ।

बागमती प्रदेशको मुख्य न्यायाधीवक्ताको कार्यालयद्वारा आयोजित तथा भोइस अफ चिल्ड्रेन र जस्ट राइट फर चिल्ड्रेनको समन्वयमा भएको कार्यक्रममा बालविवाहका समस्या तथा समाधानका उपायहरुबारे अन्तरक्रिया भएको थियो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बालबिबाहको पारिवारिक सहमतिमै भइरहेको भन्दै यसको न्यूनीकरणका लागि आधारभूत तहबाटै पहल गर्नुपर्ने बताउनुभयो । बालबिवाहबाट जीवनमा आइपर्ने समस्याहरु र स्वाथ्यमा आउने समस्याबारे शिक्षा दिनुपर्नेमा उहाँको जोड थियो । बालबिवाह बिरुद्धको कानुुनलाई कडाइ गरेरमात्र समाधान नहुने दाबी गर्दै प्राथमिक तहबाटै शिक्षा दिँदा बुझाइ राम्रो हुने उहाँको सुझाव छ ।

कार्यक्रममा मुख्य न्यायाधीवक्ता अप्सरा बस्नेतले कानुनमा भएका प्रावधान तथा बालबिवाहको वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जिल्ला अदालतको बाल इजालसका सुवासचन्द्र अधिकारीले विवादमा परेका बालबालिकाको न्याय प्रक्रियाबारे कार्यपत्र प्रस्तुत गर्दै जिल्ला अदालतहरुमा सञ्चालन हुने बाल इजलासहरु तथा गत बैशाख २ गते स्थापित बाल अदालतबारे स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा उपस्थित सरोकारवालाहरुले पछिल्लो समय बालबिवाह अभिभावकको कारणबाट नभई सामाजिक सञ्जालको दुरुपयोगबाट फैलिरहेको र बालबालिका स्वयम्ले बालबिवाह गर्ने गरेको पाइएको बताएका छन् ।

बाल हेल्पलाइन नेपालका प्रबन्धक झविन्द्र ज्ञवालीले पछिल्लो समय बालबिवाह गर्दा अभिभावकहरु भन्दा बालबालिका आाफैं सहभागी हुने, अभिभावकहरुले चासो नदिने, स्थानीय तहले प्रभावकारी कार्यक्रम नगर्ने र बिवाहमा सहभागी हुने बालबालिकाहरु बालबिवाहबाट हुने हानिबारे अनबिज्ञ भएको पाइएको बताउनुभयो । अभिभावकहरु सचेत भए पनि आफ्ना बालबालिकाहरुलाई सचेत बनाउन चासो नदिएको पनि उहाँको भनाइ छ । कार्यक्रममा बागमती प्रदेशको मुख्य न्यायाधीवक्ताको कार्यालयका उपन्यायाधिबक्ता प्रकाश घिमिरे, गैरसरकारी संस्था महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटा, नेपाल मानव अधिकार संगठनका अध्यक्ष शर्मिला श्रेष्ठलगायतको सहभागिता थियो ।