वाद्यवादन तालिमको उद्घाटन कार्यक्रममा सहभागीहरु ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कार्यालयको आयोजनामा १५ दिने वाद्यवादन तालिम भइरहेको छ । वडाभित्रका २० जना सहभागी रहेको सो तालिम गत सोमबारदेखि सुरु भएको हो ।

१८ वर्षभन्दा माथिका उमेर समूहका महिलाहरु लक्षित तालिममा वडामा एकादशी भजन मण्डलीमा सक्रिय तथा वाद्यवादनमा इच्छुक महिलाहरु सहभागी रहेको वडाअध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो । तालिममा मादल, गितार, पियानो र ड्रमसेट सिकाइरहेको समेत वडा अध्यक्ष थापाले जानकारी दिनुभयो । यसअघि ३ वर्षदेखि निरन्तर वाद्यवादनको सामग्रीहरु यी समूहहरुलाई प्रदान गर्दै आइरहेकोमा यसवर्ष पनि स्थानीय वाद्यवादन सामग्री सेन्टरका वाद्यवादकहरुद्वारा तालिम प्रदान गरिरहेको थापाले जानकारी दिनुभयो ।

यसअघि वडा कार्यालयले मादल, झ्याली, हार्मोनियम, तबला, खैँजडी जस्ता सामग्रीहरु ५ वटा टोलहरुका भजन मण्डलीहरुलाई प्रदान गर्दै आएकोमा .यी भजन समूहहरु समेत समावेश हुने गरी अन्य वाद्यवादनमा चासो राख्ने तथा सीप विकास गर्न चाहने महिलाहरुलाई तालिममा सहभागी गराइएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले डेढ लाख खर्च गरी सञ्चालन गरेको यो तालिमले वाद्यवादनको सीप प्रयोग गरी व्यवसायी बन्ने अवसर समेत रहने वडाअध्यक्ष थापाले दावी गर्नुभएको छ ।