हेटौँडा : हेटौँडा–१८, दोभानचौरस्थित कमला आधारभूत विद्यालयमा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘शिक्षक अभिप्रेरणा तथा नवप्रवर्तन सिकाइ कार्यशाला’ सम्पन्न भएको छ । विद्यालयको आयोजनामा शुक्रबार एक दिवसीय कार्यक्रम भएको विद्यालयका प्रधानाध्यापक गोविन्द उप्रेतीले जानकारी दिनुभयो ।

कार्यशालामा शैक्षिक सत्र २०८३ का लागि नयाँ कार्ययोजना निर्माण र त्यसको कार्यान्वयनको खाका प्रस्तुत गरिएको थियो । सहभागी शिक्षकहरूबीच शैक्षिक योजना, पाठ योजना, गत शैक्षिक सत्रको क्रियाकलापको समीक्षा, विषयगत जिम्मेवारी र अभिलेखीकरण लगायतका विषयमा विस्तृत छलफल भएको प्रधानाध्यापक उप्रेतीले बताउनुभयो । प्रधानाध्यापक उप्रेतीले शिक्षकहरूलाई प्रविधिमैत्री शिक्षणतर्फ आकर्षित गर्न ‘सिकाइ चौतारी’ एपको प्रयोग र कृत्रिम बुद्धिमता (एआई) प्रयोगबारे सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा शिक्षकहरूलाई आफ्नो पेसाप्रति थप जिम्मेवार, जवाफदेही र आदर्श शिक्षक बन्न प्रेरित गरिएको उहाँको भनाइ छ ।

शिक्षकहरूको मनोबल उच्च राख्न विद्यालयले प्रोत्साहनका कार्यक्रमहरूलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ । प्रधानाध्यापक उप्रेतीका अनुसार विषयगत जिम्मेवारी राम्रोसँग पूरा गर्ने, फुर्सदको समयमा अन्य खाली कक्षामा पठनपाठन गराउने र बिदा बचत गर्ने शिक्षकहरूलाई विद्यालयले वर्षेनी प्रदान गर्दै आएको प्रोत्साहन पुरस्कार यस वर्ष पनि प्रदान गरिनेछ । हाल १७ जना शिक्षक कार्यरत विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि हालसम्म ५० जना नयाँ विद्यार्थी भर्ना भएका छन् । गत शैक्षिकमा ३३३ जना विद्यार्थीले अध्ययन गरेको विद्यालयमा चालु शैक्षिक सत्रमा विद्यार्थी भर्ना हुने क्रम अझै जारी रहेको प्रधानाध्यापक उप्रेतीले बताउनुभयो ।