हेटौँडाः मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा काठमाडौंको चित्लाङ फुटबल क्लब र बाराको नव जनजागृति युवा फुटबल क्लब भिड्दैछ । खेल दिउँसो ३:३० बजेदेखि बागमती­–४ स्थित सहिद स्मृति रङ्शालामा हुनेछ । आजको विजेता टोलीले फाइनलमा शनिबार सर्लाहीको बागमती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

मंगलबार भएको समूह चरणको खेलमा साविक उपविजेता मछिन्द्र एफसिलाई १­–० गोलले हराए चित्लाङ एफसिल सेमिफाइनलमा प्रवेश गरेको थियो भने शुक्रबार खेलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै जनजागृति सेमिफाइनल प्रवेश गरेको थियो ।

बागमती खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।