उपाधि विजेता हेटौँडा–५ को महिला भलिबल टिम ।

हेटौँडा : आठौं संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि हेटौँडा–५ ले उचालेको छ । मंगलबार भएको प्रतियोगिताको फाइनल खेलमा हेटौँडा–५ ले हेटौँडा–१२ लाई ३–० को सोझो सेटमा सहजै पराजित गर्दै उपाधि कब्जा गरेको हो ।

हेटौँडा–५ ले हेटौँडा–१२ लाई २५–१५, २५–२२ र २५–४ को सेटमा सहजै पराजित गरेको हो । उपाधि जितेसँगै हेटौँडा–५ ले ५० हजार रुपैयाँ र उपविजेता हेटौँडा–१२ ले ३० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । सोमबार भएको सेमिफाइनल खेलमा हेटौँडा–५ ले हेटौँडा–९ लाई र हेटौँडा–१२ र हेटौँडा–१७ लाई हराएर फाइनलमा पुगेको थियो ।

पुरुषतर्फको उपाधिका लागि हेटौँडा–११ र हेटौँडा–१९ बीच भिडन्त भइरहेको छ । हेटौँडा उपमहानगर खेलकुद विकास समितिको प्रायोजन तथा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय खेलकुद प्रतिष्ठानको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १० वडाका टोलीको सहभागिता रहेको छ ।