सांकेतिक तस्वीर ।

हेटौँडा : सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–११, बेलिब्रिज नजिक इन्द्रावती खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ भने एक बेपत्ता भएकी छन् । सोमबार दिउँसो ४ बजेर २० मिनेटको समयमा मेलम्ची नगरपालिका–९ की १८ वर्षीया निर्जला गिरी र पाचपोखरी थाङपाल गाउँपालिका–६ की १४ वर्षीया अन्जिता जोती इन्द्रावती खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बेपत्ता भए पश्चात खोज तथा उद्दारका क्रममा निर्जला घटनास्थलबाट १ किलोमिटर तल मृत अवस्थामा फेला परेकी छन् । उनको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेलम्ची नगर अस्पताल लगिएको छ । अन्जिता भने फेला परेकी छैनन् र उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । बालिकाहरुको उद्दारको क्रममा चितवन जिल्ला घर भई हाल काठमाडौँमा बस्ने ४९ वर्षीय वीरबहादुर राईले बालिकालाई बचाउने प्रयास गर्दा आफैं पानीमा डुबेर घाइते भएका छन् । उनलाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।