हेटौँडा : दुइ महिनाअघिसम्म अधिकांश ओपिसि सिमेन्टको मूल्य प्रतिबोरा ६ सय ५० रुपैयाँमा पाइने गरेकोमा यो हप्ता मूल्य बढेर ८ सय पुगेको छ । तीन महिनाको अवधिमा सिमेन्टमा १ सय ५० रुपैयाँ बढेको छ । यस्तै पिपिसी सिमेन्ट पनि ५ सय ५० मा पाइने गरेकोमा मूल्य वृद्धि भई यस हप्ता ६ सय ८० पुगेको छ । मध्यपूर्वको युद्धको कारण पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएसँगै निर्माण सामग्रीको मूल्यमा पनि वृद्धि भएको हो । हेटौंडा सिमेन्ट उद्योगले सिमेन्ट प्रतिबोरा कम्पनिकै मूल्य ७ सय ८४ रुपैयाँ तोकेको छ । यसअघि उद्योगले ७ सय २१ रुपैयाँ कम्पनीकै मूल्य तोकेको थियो ।

निर्माणका लागि आवश्यक पर्ने सिमेन्टमा मात्रै करिब २५ प्रतिशत मूल्यवृद्धि भएको छ । सिमेन्टसँगै निर्माण कार्यमा प्रयोग हुने गिटी, बालुवाहरुको पनि मूल्यमा वृद्धि भएको छ । हेटौँडामा गिट्टीको स्थानीय मूल्य प्रति ट्र्याक्टर ३ हजार ५ सय रुपैयाँ रहेकोमा गाडीभाडा वृद्धि भएकोले मूल्य पनि बढाएर ४ हजार रुपैयाँ तोकिएको हेटौँडा–७ स्थित जयशंकर बालुवा प्रशोधन उद्योगका सञ्चालक शंकर चौलागाईले जानकारी दिनुभयो । यस्तै सामान्य बालुवा पहिले ६ हजार प्रतिट्र्याक्टर मूल्य कायम भएकोमा अहिले मूल्य वृद्धि गरेर ६ हजार ५ सय रुपैयाँ तोकिएको छ । यसमा ढुवानी गर्नुपर्ने स्थानको दूरी बढ्दै जाँदा मूल्य झनै बढ्दै जान्छ । वर्षौदेखि स्थिर रहँदै आएको मूल्य पेट्रोलियम पदार्थको मृल्यवृद्धि पछि एक्कासी मूल्य बढाउनु परेको चौलागाइले बताउनुभयो । यस्तै छडको पनि दैनिकजसो मूल्य बढिरहेको छ । दुइ महिनाअघि टिएमटि छडको मूल्य प्रतिकेजी ७५ रुपैयाँ रहेकोमा हाल हाल १ सय २ रुपैयाँ पुगेको छ ।

नेपालमै उत्पादित भएका सिमेन्ट र स्थानीय रुपमै प्रशोधित गिट्टी बालुवामा यसरी मूल्यवृद्धि हुँदा भारतबाट आयात गरिने सामग्रीहरुमा झनै मूल्य बढेको छ । यसैगरी प्लाष्टिक तथा सेरामिकका सामग्रीहरुमा ४० प्रतिशत भन्दा बढी मूल्य बढेको निर्माण सामग्री व्यवसायी संघका अध्यक्ष सुदीप तिमल्सिनाले जानकारी दिनुभयो । पिभिसी तथा युपिभिसी पाइपहरु (१ सय १० एमएम) को मूल्य २ हजार रहेकोमा हाल मूल्यबृद्धि भई ३ हजार ५ सय रुपैयाँ र ७५ एमएमका पाइपहरुको मुल्य १ हजार ३ सयबाट १ हजार ८ सय रुपैयाँसम्म पुगेको उहाँले बताउनुभयो ।

यस्तै निर्माणको अन्तिम चरणमा प्रयोग हुने टाइल, ग्रेनाइट तथा बाथरुममा फिटिङका लागि प्रयोग हुने कम्बोट तथा प्यानको मूल्यमा अत्याधिक वृद्धि भएको छ । प्रति स्क्वायर फिट ५ सय रुपैयाँमा पाइने टाइल अहिले ७ सय रुपैयाँ पुगेको छ । यस्तै ग्रेनाइट प्रतिस्क्वायर फिट १ सय ८० रुपैयाँमा पाइने गरेकोमा अहिले २ सय २५ रुपैयाँ पर्ने गरेको छ । बाथरुममा प्रयोग हुने कम्बोट १२ हजारमा पाइने गरेकोमा १८ हजार मूल्य पुगेको छ । यस्तै प्लाष्टिकबाट निर्मित पानी ट्याङकी यसअघि १० देखि १२ हजारमा बिक्रि गर्ने गरेकोमा अहिले मूल्य बढेर १८ हजार माथि पुगेको तिमल्सिनाले जानकारी दिनुभयो । विशेषगरी प्लाष्टिक तथा सेरामिक्सबाट निर्मित सामग्रीहरुमा ४० प्रतिशत भन्दा बढी मूल्यवृद्धि भएको उहाँको भनाइ छ ।