हेटौँडा : हेटौँडामा गाडी सफा गर्ने क्रममा च्यापिएर सहचालकको मृत्यु भएको छ । हेटौंडा–११, थानाभ¥याङमा गाडी सफा गर्ने क्रममा च्यापिएर सहचालकको मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११, थानभ¥याङमा ट्रकले च्यापिएर पर्सा जिल्लाको पर्सागढी गाउँपालिका–३, विरुवागुठीका २३ वर्षीय फुलकान्त थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । थानाभ¥याङमा रोकिराखेको ना ७ ख ७०१८ नम्बरको लहरी ट्रकको अगाडिको भागको सिसा सफा गर्न लागिरहेको अवस्थामा चालकले गाडी चलाउँदा राजमार्ग छेउमा अगाडि रोकिराखेको ना ६ ख ४२८९ नम्बरको ट्रक पछाडि ठोक्किँदा लहरीको सहचालक थारु च्यापिएर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक पुस्कर बोगटीले बताए ।
उनका अनुसार घाइते सहचालक थारुलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि चितवनस्थित भरतपुर अस्पताल पठाइएको उनले बताए । भरतपुर अस्पतालमा उपचारको क्रममा सहचालक थारुको सोमबार राति मृत्यु भएको प्रवक्ता बोगटीले बताए । प्रवक्ता बोगटीका अनुसार लहरीका चालक पर्सा जिल्लाको ठोरी गाउँपालिका–१ का ३२ वर्षीय एकराज तिमिल्सेना र अर्का चालक उदयपुर जिल्लाका २९ वर्षीय भविस तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको उनको भनाई छ ।











