आइतबार प्रदेश सभा बैठकमा सहभागी प्रदेश सभा सदस्यहरु ।

हेटौँडा : बागमती प्रदेशसभा बैठकमा सभामुखको खोजी भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्यहरुले सभामुखको खोजी गर्दै तत्काल नियुक्ति प्रक्रिया संवैधानिक व्यवस्था अनुसार अघि बढाउन माग गरे । संविधानको धारा १८२ को पालना गर्दै ७ महिनादेखि रिक्त सभामुखको निर्वाचन तत्काल तोकिनु पर्ने उनीहरुले बताए ।

सभामुख चयनको प्रक्रिया यही बैशाख ८ गतेभित्रै सम्पन्न गर्नुपर्ने उनीहरुको मागमा रहेको छ । उनीहरुले सभामुख नहुँदा प्रदेशसभा अभिभावकविहीन जस्तो भएको र यसले संघीयतामाथि नै प्रश्न उठाएको टिप्पणी गरे । तत्कालिन सभामुख भुवन कुमार पाठकले गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनको क्रममा राजीनामा घोषणा गर्दै असोज १ मा इमेल मार्फत प्रदेशसभा सचिवालयमा राजीनामा पत्र पठाएका थिए । सो अवधिमा प्रदेशसभा बैठक बस्न नसकेपछि मंसिर ३ मा सरकारले प्रदेश सभाको अधिवेशन नै अन्त्य गरेको थियो भने मंसिर ४ मा उपसभामुख अप्सरा चापागाईले सार्वजनिक सूचना जारी गर्दै पाठकको राजीनामा बारे जानकारी गराएकी थिइन् ।

गत चैत २४ गते बसेको प्रदेशसभाको बैठकमा उक्त विषयको जानकारी औपचारिक रुपमा पेश भएको थियो । संविधानको व्यवस्था अनुसार सभामा जानकारी भएको १५ दिन भित्र सभामुख नियुक्तिको प्रक्रिया थाल्नु पर्दछ । जस अनुसार बैशाख ९ गते भित्र प्रदेशसभाको बैठकले सभामुख नियुक्तिको प्रक्रिया अघि बढाइसक्नु पर्ने व्यवस्था रहेको छ । उक्त अवस्थाका बीच प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरुले सभामुखको खोजी गरिरहेका हुन् ।

प्रदेश सभा सदस्य रत्नप्रसाद ढकालले सभामुख नियुक्ति प्रक्रिया राक्नुको कारण जानकारी गराउन माग गरे । उनले आइतबारको बैठकमा सभामुख नियुक्ति प्रक्रिया थाल्ने सहमति समेत उल्लंघन भएको बताए । मुख्यमन्त्रीको उपस्थितिमा भएको सर्वदलीय छलफलको सहमति अनुसार सभामुख नियुक्तिको प्रक्रिया आज (आइतबार) को बैठकबाट हुनुपर्ने भएपनि हुन नसकेको उनको भनाई छ ।

‘संविधानको धारा १८२ ले प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको चयन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । तर यहाँ ७ महिना बितिसक्दा पनि पद रिक्त राख्नु पूर्णतः असंवैधानिक हो’, उनले भने, ‘के सत्तापक्षका दलहरुबीच भागबण्डा नमिलेर यो प्रक्रिया रोकिएको हो ? यदि हो भने यसले प्रदेशवासी जनतामा निकै नकारात्मक सन्देश गएको छ । ८ गतेभित्र सभामुखको निर्वाचन प्रक्रिया टुंग्याइयोस् ।’

प्रदेश सभा सदस्य रामकुमार पहाडीले प्रदेश सभाले हालसम्म सभामुख पद रिक्त रहनु असंवैधानिक कदम भएको बताए । उनले सभामुखले राजीनामा दिएको ७ महिनासम्म पनि रिक्त हुन संवैधानिक व्यवस्थाको खिलाफ रहेको बताए । ‘७ महिना भइसक्यो, हामीले सभामुखको निर्वाचन गर्न सकेका छैनौँ । यसले के सन्देश जान्छ ? हामी एउटा सभामुख आफैँ छान्न सक्दैनौँ ? म यथाशीघ्र निर्वाचनको मिति तोक्न माग गर्दछु ।’ उनले भने । प्रदेश सभा सदस्य भुवन केशरी श्रेष्ठका अनुसार सभामुखको राजीनामापछि लामो समय बित्दा पनि प्रक्रिया टुंग्याउन नसक्दा दलहरुको कमजोरी भएको बताइन् । सत्तारुढ दलहरुको आपसी भागबण्डाका सभामुख चयन गर्न समस्या भएको उनको भनाई छ ।