फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन नेपालको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण अविस्मरणीय घटनाको रूपमा हेरिएको छ । बालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अप्रत्याशित उदयले केवल सत्ताको समीकरण मात्र परिवर्तन गरेको छैन, जनआकांक्षा, नेतृत्वप्रतिको विश्वास र शासन शैलीप्रतिको धारणा नै पुर्नभाषित गरेको छ । लामो समयदेखि परम्परागत दलहरूको वर्चस्वमा चलेको राजनीति विरुद्ध जनताले दिएको यो स्पष्ट म्यान्डेटले नयाँ पुस्ताको नेतृत्वप्रतिको भरोसा र परिवर्तनको चाहना प्रतिम्बिबित गरेको छ ।
बालेन्द्र शाह प्रधानमन्त्री बन्ने सम्भावनाले देशभित्र मात्र होइन, क्षेत्रीय कूटनीति र बिदेश सम्बन्ध पनि नयाँ बहस जन्माएको छ । विशेषतः नेपाल–भारत सम्बन्धको सन्दर्भमा यो परिवर्तनलाई अत्यन्त चासोका साथ हेरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दिइएको बधाई सन्देशले दुवै देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने संकेत दिएको छ । बालेन्द्र स्वयम्ले पनि कूटनीतिक परिपक्वता देखाउँदै नेपाल–भारतबीचको ऐतिहासिक, साँस्कृतिक र आर्थिक सम्बन्धलाई अझ प्रगाढ र परिणाममुखी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । प्राचिनकाल देखिनै नेपाल–भारत सम्बन्ध विशिष्ट खालको छ । यो लामो सम्बन्धमा थुप्रै उतार–चढाव आएका छन् । जनस्तरमा यो सम्बन्ध मजबुत छ तर सरकारको बीचमा लामो समयदेखि १९५० को सन्धि, सिमाना बिवाद, कालापानि लिपूलेकदेखि चूच्चे नक्सासम्मको बिवाद कायमै छ ।
यि समस्यालाई कूटनीतिकरूपमा समाधान गर्ने जिम्मा पनि नयाँ सरकारको काँध आएको छ । भारतको संस्थापन पक्ष नेपालप्रति अनुदार नै छ । संविधान निर्माणमा देखिएको दबाव र हस्तक्षेपलाई तात्कालिन राजनीतिक दलहरूले हाम्रो आन्तरिक निर्णयमा प्रभाव हुन दिएन । भारतसँगको सम्बन्धलाई सरकारी स्तरबाट सन्तुलित र समान ढंगबाट अघि बढाउनुपर्ने देखिन्छ । प्रधानमन्त्री हुने बित्तिकै पहिलो भारत भ्रमण गर्ने प्रचलन छ । यद्यपि यो प्रचलन तोडिएको पनि छ । नयाँ सरकार निर्माण भएयता औपचारिक त्यस्तो निर्णय भएको छैन । नयाँ सरकारको नीति प्राथमिकता अहिले सुशासन, सेवा प्रवाहमा प्रभावकारिता, भ्रष्ट्राचारको अन्त्यका लागि तीब्ररुपमा अघि बढेको छ ।
यद्यपि बालेन्द्र शाहमाथि विभिन्न आरोपहरू लगाइएका छन् । कहिले उनलाई ‘अमेरिकी प्रभावमा हिँड्ने व्यक्ति’ भनिएको छ भने कहिले उनको राष्ट्रवादी अडानमाथि प्रश्न उठाइएको छ । तर यस्ता आरोपहरू तथ्य, प्रमाणको आधारमा भन्दा नि राजनीतिक पूर्वाग्रह र प्रचारमा आधारित देखिन्छन् । उनको अघिल्लो कार्यकाल, विशेषगरी काठमाडौं महानगरपालिकाका मेयरको रूपमा, हेर्दा उनले राष्ट्रिय हितका विषयमा स्पष्ट अडान लिएको देखिन्छ । उदाहरणका लागि, ‘आदिपुरुष’ चलचित्र विवाद होस् वा नेपालको नयाँ नक्साको प्रयोग, यी सबैले उनको राष्ट्रिय स्वाभिमानप्रतिको प्रतिबद्धता झल्काउँछ ।
अमेरिकासँग जोडिएको एसपीपी (स्टेट पार्टनरसीप प्रोग्राम) को सन्दर्भमा पनि बालेन्द्र शाहको सम्भावित नेतृत्वलाई लिएर विभिन्न आशंका गरिएका छन् । यो सरकारले एसपीपी लागू नहूने स्पष्ट बताइसकेको छ । तसर्थ यसलाई वस्तुगत विश्लेषण गर्दा, नेपालको विदेश नीति सधैं सन्तुलनमा आधारित रहँदै आएको छ । जहाँ भारत र चीन दुवैसँग समान दूरी र सहकार्यको सिद्धान्त अपनाइन्छ । यस्तो अवस्थामा बालेन्द्र नेतृत्वको सरकारले कुनै एक पक्षमा झुकाव देखाउने सम्भावना न्यून देखिन्छ, बरु राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्वतन्त्र र सन्तुलित कूटनीति अपनाउने अपेक्षा गर्न सकिन्छ ।
नेपाल–भारत सम्बन्धको सन्दर्भमा अहिलेको अवस्था पुनर्परिभाषित गर्ने अवसरको रूपमा लिन सकिन्छ । करिब १८०० किलोमिटर खुला सीमाना, गहिरो साँस्कृतिक सम्बन्ध र आर्थिक अन्तरनिर्भरता रहेका यी दुई देशबीचको सम्बन्धलाई नयाँ दृष्टिकोणबाट अगाडि बढाउन सकिन्छ । बालेन्द्र शाह जस्तो युवामुखी नेतृत्वले पुराना कूटनीतिक ढाँचाबाट बाहिर निस्केर परिणाममुखी सहकार्य, पारस्परिक सम्मान र समानतामा आधारित सम्बन्ध विकास गर्न सक्ने सम्भावना प्रवल छ । यस परिप्रेक्ष्यमा विलियम शेक्सपियरको ‘जुलियर सिजर’ मा ब्रुटसले भनेको प्रसिद्ध भनाइ सान्दर्भिक देखिन्छ । जीवनमा केही यस्ता क्षणहरू आउँछन्, जसलाई सही समयमा समात्न सकियो भने सफलता सुनिश्चित हुन्छ, अन्यथा अवसर गुम्छ । अहिलेको ‘बालेन शाह क्षण’ पनि त्यस्तै एउटा ऐतिहासिक अवसर हो, जसले नेपाललाई सुशासन, आर्थिक विकास र सन्तुलित विदेश नीतितर्फ नयाँ दिशा दिन सक्छ ।
यो परिवर्तन प्रणाली परिवर्तनको संकेत हो । यदि बालेन्द्र शाह नेतृत्वको सरकारले जनविश्वासलाई कायम राख्दै संस्थागत सुधार, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिन सक्यो भने नेपालले नयाँ युगको सुरुवात गर्न सक्छ । साथै, नेपाल भारत सम्बन्ध पनि नयाँ उचाइमा पुग्नेछ । अहिलेको समय संवेदनशील मात्र होइन, सम्भावनाले भरिएको छ र यो अवसरलाई सही रूपमा उपयोग गर्नु नै नेपालको भविष्य निर्धारण गर्ने मुख्य आधार हुनेछ । यस सन्दर्भमा थप एक महत्वपूर्ण पक्ष के हो भने, बालेन्द्र शाहको उदयले केवल सत्ता परिवर्तन सँगसँगै, राजनीतिक संस्कार परिवर्तनको संकेत पनि दिएको छ । नेपालमा लामो समयदेखि जरा गाडेर बसेको नातावाद, कृपावाद र भ्रष्ट्राचारप्रतिको जनआक्रोशले नै रास्वपाको उदय सम्भव बनाएको हो । अब नेपाली जनता केवल नारा मात्र होइन, परिणाम खोजिरहेका छन् । सुशासन, पारदर्शिता र उत्तरदायित्व अब वैकल्पिक होइन, अपरिहार्य आवश्यकता बनिसकेको छ ।
त्यस्तै, केपि शर्मा ओली र प्रचण्ड जस्ता परम्परागत नेताहरूको प्रभाव कमजोर हुँदै जानु पनि यस परिवर्तनको महत्वपूर्ण संकेत हो । नयाँ पुस्ताले अब वैकल्पिक राजनीति मात्र होइन, उत्तरदायी राजनीति खोजिरहेको छ । यसबीच, क्षेत्रीय सन्दर्भमा पनि नेपालको परिवर्तनलाई पृथक रूपमा हेर्न मिल्दैन । बंगलादेश, श्रीलङ्का जस्ता देशहरूमा पनि पछिल्लो समय युवाहरूले शासन प्रणालीप्रति असन्तुष्टि जनाउँदै परिवर्तनको माग गरेका छन् । यसले दक्षिण एसियामा नै एउटा नयाँ राजनीतिक लहरको संकेत गर्दछ, जहाँ पुराना संरचनाहरू चुनौतीमा परिरहेका छन् र नयाँ नेतृत्व उदाउँदैछ ।
रास्वपाभित्र पनि स्वर्णिम वाग्ले जस्ता अर्थशास्त्रीहरूको उपस्थिति नेपालको आर्थिक सुधारका लागि सकारात्मक संकेत मानिन्छ । आर्थिक नीतिमा व्यावसायिकता, तथ्यमा आधारित निर्णय र दीर्घकालीन योजना आवश्यक छ, जुन नयाँ नेतृत्वले ल्याउन सक्छ भन्ने अपेक्षा गरिएको छ । साथै, पार्टीभित्र रवि लामिछानेको नेतृत्व र बालेन्द्र शाहको कार्यशैलीबीच सन्तुलन कायम गर्नु पनि स्थायित्वका लागि महत्वपूर्ण हुनेछ ।
अबको सबैभन्दा ठुलो चुनौति भनेको जनअपेक्षालाई व्यवस्थापन गर्नु हो । परिवर्तनको लहरले सरकार बनाउनु सजिलो बनाउँछ, तर त्यसलाई टिकाइराख्न र परिणाम दिनु अत्यन्त कठिन हुन्छ । बालेन शाहको नेतृत्वमा आउने सम्भावित सरकारले यदि छिटो, स्पष्ट र प्रभावकारी निर्णयहरू लिन सक्यो भने मात्र यो जनविश्वास दीर्घकालीन रूपमा कायम रहन सक्छ । यसैले, अहिलेको अवस्था केवल आशा र सम्भावनाको मात्र होइन, जिम्मेवारी र परीक्षणको समय पनि हो । ‘बालेन्द्र शाह क्षण’लाई सही रूपमा उपयोग गर्न सकियो भने नेपालले केवल आन्तरिक रूपमा होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो स्थान मजबुत बनाउन सक्छ । विशेषगरी नेपाल–भारत सम्बन्धलाई समानता, सम्मान र पारस्परिक हितका आधारमा पुनःसंरचना गर्न सकियो भने यो सम्बन्ध नयाँ उचाइमा पुग्नेछ ।
नेपाल अहिले इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ जहाँबाट या त देशले नयाँ दिशा समात्न सक्छ, या पुरानै चक्रमा फस्न सक्छ । निर्णय अब नेतृत्वको मात्र होइन, समग्र प्रणाली र नागरिक चेतनाको पनि हो । यही कारणले, अहिलेको समयलाई केवल राजनीतिक परिवर्तनको रूपमा होइन, एक सम्भावित राष्ट्रिय पुनर्जागरणको सुरुवातको रूपमा बुझ्न आवश्यक छ । अस्तू ।।










