
हेटौँडा : हेटौँडाका सेवाग्राहीले राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने झन्झटबाट छुटकारा पाएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हुलाक कार्यालयसँगको सहकार्यमा घरमै राहदानी पुर्याउने व्यवस्था गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हुलाक कार्यालयलाई बुधबार ५० वटा राहदानी वितरणको लागि उपलब्ध गराएको छ । हुलाक कार्यालय मकवानपुरले बुधबार हेटौँडा–४, कपुर कम्प्लेक्स भवन नजिकका २२ वर्षीय निश्चल मानन्धरको घरमै राहदानी बुझाएको कार्यालय प्रमुख रमेश लामिछानले बताउनुभयो । राहदानी बुझाउन हलकारा, हुलाक कार्यालयका प्रमुख र जिल्ला प्रशासन कार्यालयका कर्मचारी गएको लामिछानेले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हुलाक सेवामार्फत राहदानी घरमै पु¥याएको हो । हुलाक मार्फत राहहदानी घर–घरमा पुर्याउने उहाँले बताउनुभयो । राज्यले सर्वसाधारणलाई घरदैलो सेवा प्रवाह गर्ने बुँदा नम्बर २७ लाई कार्यान्वयन गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा हुलाक कार्यालय मकवानपुरले उक्त कार्य सुरु गरेको हो । सेवाग्राहीको समय र श्रम बचत गर्ने उद्देश्यसहित सुरु गरिएको यस पहलले राहदानी वितरण प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।










