हेटौँडा : हेटौँडामा सञ्चालित वृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत पहिलो दिन जिल्लास्तरीय महिला तथा पुरुष १० किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार बिहान हेटौँडामा १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको हो । दौड प्रतियोगितामा पुरुषतर्फ सुवास हेम्जन र महिलातर्फ साधना लोप्चन प्रथम भएका छन् ।
प्रतियोगितामा पुरुषतर्फ राक्सिराङ–१ का सुवास हेम्जन प्रथम भएका हुन् । अन्य २२ प्रतिस्पर्धीलाई उछिन्दै हेमजनले प्रथम स्थान हाँसिल गरेका हुन् । दौडमा मनहरी–८ का सन्दिप विक द्वितीय र बकैया–८ का राजकुमार गोले तृतीय भए । यस्तै, महिलातर्फ हेटौँडा–१३ की साधना लोप्चन प्रथम भइन् । उनले अन्य ६ प्रतिस्पर्धीलाई पछि पार्दै महिला दौडको उपाधि जितेकी हुन् । महिलातर्फ हेटौँडा–१३ कै अमृता मोक्तान द्वितीय र हेटौँडा–४ की सुविना गोले तृतीय भएका छन् । राक्सिराङ–१ की निलिमा थिङ सान्त्वना भइन् । महिला पुरुष दुबैतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई महोत्सवको उद्घाटन कार्यक्रममा क्रमशः २० हजार, १० हजार, ५ हजार र एकहजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
शुक्रबारबाट नै जिल्लास्तरीय डबल्स ब्याडमिन्टन प्रतियोगितासमेत सुरु भएको छ । हेटौँडा–११, थानाभ¥याङस्थित कभर्ड हलमा मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अरुणराज सुमार्गीले ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । ब्याडमिन्टन प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १० हजार तथा सान्त्वनाले ५÷५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मकवानपुर जिल्ला खेलकुद विकास समितिका सदस्य मदन उप्रेतीले जानकारी दिनुभयो ।











