अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बानियाँ ।

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले राज्य कठोर हुुनुपर्ने तर निर्दयी हुन नपाइने बताउनुभएको छ । शुक्रबार हेटौँडामा राजमार्ग विस्तारका क्रममा प्रभावित घरधनी तथा बागमती प्रदेश सरकारबीच अन्तरक्रियामा बोल्नुहुँदै मुख्यमन्त्री बानियाँले राज्य कानून पालना गराउन कठोर हुुनपर्ने तर जनताको पक्षमा अन्याय हुनेगरी काम गर्न नपाउने बताउनुभएको हो ।

प्रदेश सरकारले तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वको सरकार हुँदा नै १६ मिटर दायाँबायाँ गर्ने गरी अघि बढ्न आफूले पनि प्रतिपक्षीको भूमिकामा रहेको स्मरण गर्दै संघीय सरकारले सो सहमतिमा अघि बढेमा प्रदेश सरकारले २ अर्ब परेपनि खर्च गरेर बाइपास निर्माण गर्न अझै तयार रहेको स्पष्ट पार्नुभएको छ । दलीय सरकार नभएको बखतमा निर्वाचनमुखी सरकारले हेटौँडाका घरहरु भत्काएको आरोप लगाउनुहुँदै अबको प्रतिनिधिसभाबाट चुनिने सरकारसँग हेटौँडाको सडक विस्तारलाई बाइपास निर्माणबाट समाधान गर्न पहल गरिने आश्वासन दिनुभएको छ ।

मुख्यमन्त्री बानियाँले यसअघि जुनसुकै दलको सरकार भएपनि जनतालाई अन्यायमा नपार्न हरदम कोसिस गरेपनि यतिखेर अप्राकृतिक प्रकोपबाट आएको सरकार भएको हुनाले समाधान भन्दा समस्या बढाउनतर्फ गएको आरोप समेत लगाउनुभयो । पछिल्लो समय महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथ विस्तारसँगै कान्तिराजपथ विस्तार गर्ने निर्णयबारे चासो व्यक्त गर्दै स्थानीय नागरिकहरुले कार्यक्रममा मुआब्जाबारे सशंकित हुँदै मुख्यमन्त्रीलाई प्रश्न राखेका थिए । प्रश्नको उत्तर दिनुहुँदै मुख्यमन्त्री बानियाँले कान्तिराजपथको हकमा केही वर्षअघि मात्रै मापदण्ड बढाइएकोले मुआब्जा अनिवार्य दिनुपर्ने समेत बानियाँले बताउनुभयो ।

कार्यक्रममा राजमार्ग विस्तारका क्रममा प्रभावित घर तथा जग्गाधनिहरुले आफ्ना व्यक्तिगत सम्पतिलाई सरकारीकरण गर्ने जस्तो गम्भीर निर्णय लिँदा सार्वजनिक सुनुवाइ लगायतका उत्तरदायित्वबाट पन्छिन नपाइने बताएका छन् । यस्तै प्रभावित घरधनीहरुले मकवानपुरका राजनीतिक दलहरुले राजमार्गका स्थानीय बासिन्दाका अन्याय पर्दा आधिकारिक कुनै विरोध नजनाएकोमा आफुहरु अचम्मित भएको गुनासो गरेका छन् । बाटो फराकिलो बनाई देश विकासमा बाधा पुर्‍याउन नहुनेमा आफुहरु एकमत रहेको बताउँदै कार्यक्रममा सहभागीहरुले सरकार आफैंले संविधानमा उल्लेख नागरिक हक तथा अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाएको समेत आरोप लगाएका छन् ।

उनीहरुले अबको भरोसा भनेकै राजनीतिक दलको साथ मात्र रहेको समेत उल्लेख गरेका छन् । यस्तै कार्यक्रमका सडक विस्तार समस्या समाधान समितिका संयोजक राजकुमार न्यौपानेले सडक विस्तारका पीडितहरुको समस्याबारे कानूनी, सामाजिक, राजनीतिक कुनै पनि पक्षबाट सुनुवाइ नभएकोले बागमती प्रदेशसँगको सहकार्यमा समाधान खोजिरहेको बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्यहरु एकालाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट लगायत राजमार्ग विस्तारका प्रभावितहरुको उपस्थिति रहेको थियो ।