हेटौँडा : नेपालमा सालक संरक्षणका लागि प्रथम सालक सम्मेलन सम्पन्न भएको छ । बागमती प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय चितवनको सहकार्यमा सोमबार चितवनको माडीमा ‘प्रथम बागमती सालक सम्मेलन’ सम्पन्न भएको हो ।

बागमती प्रदेश सरकार वन तथ वातावरण मन्त्री भरत केसीले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । सालकको संरक्षण, विद्यमान चुनौती र आगामी कार्यदिशाबारे छलफल गर्न आयोजना गरिएको एक दिने सम्मेलनमा २ सय ६० जनाको सहभागिता रहको डिभिजन वन कार्यालय चितवनका डिभिजन वन अधिकृत (डीएफओ) विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो । सम्मेलनमा डिभिजन वन कार्यालयका अधिकृतहरू, निकुञ्जका वार्डेनहरू, सामुदायिक वनका प्रतिनिधिहरू तथा सालक संरक्षणमा सक्रिय अभियन्ताहरूको उपस्थिति रहेको थियो ।

सम्मेलनमा डीएफओ आचार्यले नेपालमा सालकको अवस्था, विद्यमान चुनौतीहरु र संरक्षणको बारेमा मुख्य कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सालक संसारमा सङ्कटापन्न अवस्थामा रहेको स्तनधारी प्राणी मध्येको एक हो । नेपालको ६१ वटा जिल्लामा सालक पाइने भए तापनि देशभर यसको संख्या करिब ५ हजारको हाराहारीमा मात्रै रहेको डीएफओ अचार्यले बताउनुभयो ।

सम्मेलनमा मकवानपुर जिल्लामा सालकको अवस्था बारे डिभिजन वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत राकेश चन्द्रवंशीले कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यस्तै, डा. हरि शर्माले सालकको विस्तारबारे प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा ‘सालक संरक्षणमा सरोकारवालाको भूमिका’ विषयक प्यानल छलफल समेत भएको थियो । उक्त छलफलमा नीति निर्माण तहका प्रतिनिधि र सामुदायिक वनका प्रतिनिधिहरूबीच सालक संरक्षणको व्यावहारिक र कानूनी पक्षबारे बहस भएको थियो ।

सालकलाई बागमती प्रदेशको गौरवशाली प्राणी घोषणा गर्ने र यसको संरक्षणमा नीति कार्यक्रमसहितको उचित बजेट व्यवस्थापन गर्ने वन मन्त्री केसीले प्रतिवद्धता व्यक्त गर्नुभयो । सम्मेलनमा संघीय तथा प्रदेश वन तथा वातावरण मन्त्रालय मातहतका निकायहरु, संरक्षण साझेदार संघ संस्थाहरु, संरक्षणकर्मी, विज्ञ, समुदायमा आधारित वन उपभोक्ता समूह लगायत सरोकारवाला निकायहरुले ‘किसानको साथी’ भन्ने मूल नाराका साथ सालक संरक्षणका लागि माडी घोषणापत्र २०८२ जारी गरेका छन् ।