हेटौँडा : मकवानपुरको थाहानगरपालिका–९, महालक्ष्मी खोला किनारमा चितुवा मृत फेला परेको छ । सोमबार साँझ साढे ५ बजेको समयमा चितुवा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सामुदायिक वनका पदाधिकारी, जनप्रतिनिधि र समुदायका प्रतिनिधिको रोहबरमा प्रहरीले इलाका प्रहरी कार्यालय नजिकैको खुला क्षेत्रमा मृत चितुवालाई खाल्डो खनेर गाडिदिएको इलाका प्रहरी कार्यालय चित्लाङका प्रहरी सहायक निरीक्षक दिनानाथ प्रसाद यादवले जानकारी दिनुभयो । वन प्राविधिकका अनुसार चितुवाको मृत्युको कारण यकिन हुन नसकेको, आपसमा झगडा गर्दा भीरबाट लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको यादवको भनाइ छ ।
मृत चितुवा करिब ३ वर्षको उमेरको ४० केजी तौल भएको बयस्क उमेरकोे थियो । यसअघि पनि २ वर्ष अगाडि पनि एउटा चितुवा चित्लाङ क्षेत्रमा मृत भेटिएको थियो । चित्लाङ आसपासका जंगलमा चितुवा रहेको र चितुवाले बेला बेलामा कुकुरलाई आक्रमण गर्ने गरेको प्रहरीको भनाइ छ ।










