हेटौँडाः दोस्रो नगरस्तरीय महिला शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता भोलि शुक्रबारदेखि हुने भएको छ । नगरस्तरीय शैक्षिक समन्वय समिति, हेटौँडाको व्यवस्थापन तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ को आयोजनामा शुक्रबार र शनिबार प्रतियोगिता हुने भएको हो ।

समितिले बुधबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको छ । गत वर्षको प्रतियोगितामा ११ वटा सामुदायिक विद्यालयको सहभागिता रहेकोमा यस वर्ष २० वटा सामुदायिक विद्यालयहरुको सहभागिता रहनेछ । प्रतियोगिता साविक विजेता हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरुले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित शिल्ड र सबै खेलाडीले प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो स्थान हासिल गर्ने विद्यालयले ५ हजार रुपैयाँ सान्त्वना पुरस्कार पाउनेछ ।

प्रतियोगितामा निःशुल्क टिम दर्ता गरिएको थियो । प्रतियोगितामा सहभागी टिमका लागि खाना र खाजाको व्यवस्था गरिएको वडा नम्बर १८ का वडा सचिव महेश पुडासैनीले बताउनुभयो । प्रतियोगितामा २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र सम्पूर्ण खर्च वडा कार्यालयले नै व्यहोर्ने उहाँले जानकारी दिनुभयो ।

नगरस्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुईंटेलको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा समितिका उपाध्यक्ष प्रतिमा गौतम, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको आतिथ्य रहेको थियो ।