हेटौँडा : हेटौँडामा जारी चौथो संस्करणको कमाने प्रिमियर लिगमा कमाने एक्सपर्ट भिजन–११ ले फराकिलो जित निकालेको छ । मंगलबार बिहान भएको खेलमा कमाने थर्डआइलाई १ सय ८६ रनले हराउँदै कमाने एक्सपर्ट भिजन्–११ फराकिलो रन अन्तरले विजयी भएको हो ।

सुरुमा ब्याटिङ गरेको कमाने एक्सपर्ट भिजनले थर्डआइलाई २ सय ४६ रनको लक्ष्य दिएको थियोे । एक्सपर्ट भिजनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ४५ रन जोडेको थियो । एक्सपर्ट भिजनका लागि सञ्जीव श्रेष्ठले अविजीत ५६ रन बनाउँदा असिम श्रेष्ठ ६० रनमा आउट भए । बलिङतर्फ एक्सपर्ट भिजनका लागि सागर मगरले ६ विकेट, श्यामसुन्दर यादवले २ विकेट र असिम श्रेष्ठले १ विकेट लिए ।

लक्ष्य पछ्याएको कमाने थर्डआइ १० दशमलब ३ ओभरमा ५८ रनमै अलआउट भएको हो । थर्डआइका तक्षक सिम्खडाले सर्वाधिक २६ रन र विशेष थापाले ११ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा थर्डआइका लागि सन्देश भट्टराई, विशेष थापा र समिर मगरले समान १÷१ विकेट लिए । एक्सपर्ट भिजनका सागर मगर प्लेयर अफ द म्याच घोषित भएका हुन् ।

प्रतियोगितामा कमाने एक्सपर्ट भिजन–११ को दोस्रो जित हो । यसअघि कमाने राइडर्सलाई ७१ रनले जित्दा कमाने इप्लानेट ब्लास्टर्ससँग ६ विकेटले पराजित भएको थियो । कमाने थर्डआइको भने यो लगातार तेस्रो हार हो । यसअघिको खेलमा कमाने राइडर्ससँग ९ विकेट र कमाने लायन्ससँग ८ विकेटले पराजित भएको थियो ।

यस्तै, मंगलबार भएको अर्को खेलमा कमाने लायन्सले कमाने इप्लानेट ब्लास्टर्सलाई २ विकेटले पराजित गरेको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको कमाने लायन्सले १९ दशमलब ३ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेटायो । लायन्सका लागि विवेक सहनीले ४७ र रमेश लुईंटेलले ४२ बनाए भने बलिङमा समिर चौलागाईंले २ विकेट, शुभ कंसाकार र रमेश लुईंटेलले समान १÷१ विकेट लिएका हुन् ।

सुरु ब्याटिङ गरेको इप्लानेट ब्लास्टर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । इप्लानेट ब्लास्टर्सका लागि विजय घलानले सर्वाधिक ७२ रन बनाएका थिए । बलिङमा विजय घलान, शिगाभ चौधरी र सुजन चौलागाईंले समान २÷२ विकेट लिएका थिए । कमाने लायन्सको यो लगातार तेस्रो जित हो ।

माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । हेटौँडा–८ स्थित कमाने क्रिकेट क्लबले आयोजना गरेको प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट रहेको छ ।