हेटौँडा : हेटौँडा–८, कमानेस्थित कमाने क्रिकेट क्लबको आयोजनामा कमाने प्रिमियर लिग (केपीएल) सुरु भएको छ । शनिबार बिहान हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा कमाने इप्लानेट ब्लास्टर्सले टस जितेर बल्लिङ रोजेको छ । कमाने इप्लानेट ब्लास्टर्स टोलीको नेतृत्व सुजन चौलागाईले गरेका छन् भने संजीव थापा मगर नेत्वृतको टोली कमाने एक्सपोर्टस् भिजन–११ अहिले ब्याटिङ्ग गर्दैछ । उद्घाटन समारोहमा बोल्नुहुँदै प्रिन्सीपल जोशीले नेपाललाई विश्वमा चिनाउने पहिलो सगरमाथा र दोस्रो क्रिकेट भएको बताउनु भयो । उहाँले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ४० हजार रुपैयाँ बराबर क्रिकेट किट व्याग दिने घोषणा समेत गर्नुभयो । माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हेटौँडा स्कूल अफ म्यानेजमेन्ट रहेको छ । प्रतियोगिता हेटौँडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयको मैदानमा हुँदैछ ।
शनिबार नै हुने दोस्रो खेलमा शुभ कंसाकार सम्मिलित कमाने लायन्स र साविक उपविजेता कमाने रोयल्स भिड्ने छन् । प्रतियोगितामा कमाने थर्डआई र कमाने राइडर्ससमेत ६ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ पनि जनही ५/५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका उद्घाटन समारोहमा वडाध्यक्ष रामकृष्ण थापा, क्रिकेट एसोसिएसन बागमती प्रदेशका सदस्य संजोग पोखरेल, टोल विकास समन्वय समितिका अध्यक्ष विष्णु अर्यालको उपस्थिति रहेको थियो ।











