सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।

उपरोक्त श्लोक अर्थात् मन्त्र नसुन्ने कमै होलान् । विद्या र वाणीकी देवी सरस्वतीको पूजा आराधना गर्ने क्रममा यो मन्त्र वाचन गरिन्छ । हिन्दू धर्मका अनुसार विद्या आर्जनका सन्दर्भलाई देवी सरस्वतीसँग जोडेर हेर्ने गरिन्छ । विद्यार्थीले पढ्नुभन्दा अघि, सङ्गीत साधकहरुले वाद्यवादन बजाउनु अघि तथा शिल्पकारहरुले कलाकौशल निर्माण गर्नुभन्दा पहिला सरस्वतीको प्रार्थना र वन्दना गर्दछन् । सरस्वती माताले नै हामीलाई विद्या, बुद्धि, विवेक दिने मान्यता रहेकाले साना बाबुनानीहरूको अक्षरारम्भ पनि सरस्वती पूजाको दिनमा गर्ने प्रचलन अहिले पनि व्यापक देखिन्छ । ब्राह्मी, श्री, शारदा, विद्यादायिनी नामले समेत परिचित सरस्वतीको आराधनाले विद्या प्राप्ति हुने र बोलीमा प्रभाव बढ्ने विश्वास रहेको छ ।

सरस्वतीको पूजा, आराधना गर्ने विशेष दिन छ । हरेक वर्ष माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमीका दिनलाई सरस्वती पूजाको रुपमा मनाइन्छ । यसै दिनबाट वसन्त ऋतु सुरु हुने भएकाले सरस्वती पूजाको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ । आज माघ ९ गते (शुक्रबार) श्रीपञ्चमी अर्थात् सरस्वती पूजा मनाइँदैछ । विद्या आर्जन, साधना र कला क्षेत्रमा लागेकाहरुले सरस्वती पूजालाई विशेष महत्व दिएर मनाउने गर्दछन् । यस दिन मन्टेश्वरीदेखि सबै तहका विद्यालय एवम् क्याम्पसहरुमा सरस्वतीको विशेष पूजा गरिन्छ । विद्यार्थीहरु बिहान सबेरै स्नान गरी पुस्तक, कलम, कापीलगायत पाठ्यसामग्रीसहित सरस्वतीको पूजा तथा आराधना गर्ने गर्दछन् । आ–आफ्ना विद्यालयमा आयोजना हुने सरस्वती पूजामा सहभागी हुन्छन् । कतिपय शिक्षण संस्थाहरुमा सरस्वतीको मन्दिर नै स्थापना गरिएको हुन्छ भने सरस्वती मन्दिर नभएका स्कूल, कलेजमा सरस्वतीको अस्थायी मूर्ति वा पोष्टर (फोटो) स्थापना गरी सरस्वती पूजा गर्ने प्रचलन छ ।

ज्ञान अर्थात् विद्या प्राप्त गर्नका साधना गर्नैपर्छ । जसले साधना गर्न सक्छ उसले सफलता पनि पाउँछ । सरस्वतीको पूजा आराधना गरेर शिक्षाको सुरुवात गर्नु भनेको ज्ञानको साधना गर्न अग्रसर हुनु हो । त्यसैले सरस्वतीलाई विद्यार्थी देवीमात्र नभई परिश्रम र मेहनतको प्रेरकसमेत मान्नु आवश्यक छ । जसले साधना गरेर सफलता प्राप्त गर्दछ उसको मुखमा सरस्वतीको बास रहेको विश्वास गरिन्छ । सरस्वतीको पूजा आराधना गर्नु भनेको धार्मिक परम्परामात्र होइन, विद्या आर्जनका लागि गरिएको चिन्तन, अध्ययन, मनन र अभ्यास हो भन्ने महसुस गर्न सकियो भने यसले सार्थकता पाउनेछ । सरस्वतीको पूजा गर्नु भनेको अध्ययनतर्फ रुचि जगाउन मनलाई प्रेरित गर्नु अर्थात् पवित्र पार्नु हो । हाम्रो मन पवित्र भएमा मस्तिष्कमा छुट्टै तरङ्ग प्रवाह गराएर कठोर साधनाका लागि तयार हुन प्रेरित गर्ने भएकाले सरस्वती पूजा आराधना गरेर मनलाई शुद्ध बनाउनु सान्दर्भिक देखिन्छ ।

श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको दिन विद्यालयहरुले अक्षरारम्भ गराउने कार्यले व्यापकता पाउँदै गएको छ । पढ्न सुरु गर्ने उमेर भएका केटाकेटीलाई घरमै अभिभावकले सरस्वती पूजाको दिन अक्षरारम्भ गराउने प्रचलन धेरै पहिलादेखि चल्दै आएको पाइन्छ । अक्षर लेख्न र पढ्न सिकाएर विद्यारम्भ गर्ने परम्परालाई अहिले विद्यालयहरुले सार्वजनिक कार्यक्रमको रुपमा व्यापक बनाउँदै लगेका छन् । विगतमा संस्थागत वा निजी विद्यालयहरुले साना बालबालिकालाई सरस्वती पूजाको दिन अक्षरारम्भ गराउने गरेकोमा पछिल्लो समय सामुदायिक अर्थात् सरकारी विद्यालयहरुमा पनि अक्षरारम्भ गराउने कार्यक्रम व्यापक बन्दै गएको छ । नयाँ विद्यार्थी विद्यालयमा आकर्षित गरी भर्ना गराउने उद्देश्यले अक्षरारम्भ कार्यक्रमले व्यापकता पाएको स्पष्ट छ । विद्यालयहरुले सरस्वती पूजाको दिन अक्षरारम्भ गराउने बालबालिकालाई निःशुल्क भर्ना गर्ने, स्टेशनरी सहयोग गर्ने, विभिन्न प्रकारका छुट र सहुलियत दिने घोषणा गरेरै अक्षरारम्भ कार्यक्रम गर्ने क्रम बढेको छ ।