हेटौँडा : गत असोजमा हेटौँडा निवासी ४० वर्षीय सुमित (नाम परिवर्तन) लाई एक टेलिग्राम आइडीबाट ‘अनलाइन इन्भेष्टमेन्टमा सहभागी हुनुहोस्’ भनेर म्यासेज आयो । उक्त म्यासेजमा ‘तपाईंलाई केही टास्कहरु दिइन्छ । ती टास्कहरु पूरा गरेमा तपाईंलाई केही कमिशन बापत रकम आउँछ भन्ने जानकारी लेखिएको थियो ।

सुमितले सुरुमा मजाक खेल मान्दै सुरुको टास्क पूरा गर्नुभयो । त्यसमा साँच्चै एक हजार आयो । त्यसपछि उहाँलाई च्याट ग्रुपमा जोडेर सहभागी गराइयो । बटरफिल्ड एण्ड रोबिन्सन नामक सो प्लाटफर्ममा दोस्रो पटकमा आफ्नो शून्य लगानीमा प्लाटफर्मकै तर्फबाट १० हजार लगानी गरी २५ हजार जति फाइदा आएपछि सुमित यो साँच्चिकै पार्टटाइम अनलाइन इन्भेष्टमेन्ट (लगानी ) भएको विश्वासमा पर्नुभयो ।

त्यसबेला उहाँले उक्त च्याट ग्रुपमा ३० जनाले सक्रियरूपमा फाइदा कमाइरहेको बताउँथे । यसले सुमितलाई झनै विश्वास बढायो । उहाँले घर बनाउन राखेको पैसा लगानी गर्ने विचार गरी एक पटक ५ लाख र १ पटक ११ लाख लगानी थप्नुभयो । त्यसपछि पनि थोरै–थोरै गरी लगानी थप्दै १९ लाख ७२ हजार पुर्‍याउनुभयो । यसपछि आफ्नो रकम झिक्न खोज्दा ५० प्रतिशत रकम डिपोजिटको रुपमा राख्नुपर्ने बताएपछि उहाँलाई स्क्यामको शंका लाग्यो र उहाँले यसबारेमा बिरोध गरेपछि उहाँलाई सो ग्रुपमा ब्लक गरियो ।

असोज मसान्ततिर आफ्नो लगानी स्क्याममा परेको थाहा पाएपछि सुमितलाई छाँगाबाट खसे झैँ महसुस भई हृदयघातको लक्षणसमेत देखियो । केही दिन अस्पतालमा बसेपछि उहाँले प्रहरीमा ठगीबारे उजुरी दिनुभयो । उहाँको रकम गएको खाता वीरगञ्जमा रहेको बैँक देखिएको सुमितले बताउनुभएको छ ।

हेटौँडाकै २६ वर्षीया उमा (नाम परिवर्तन) ले पनि कार्तिकमा सामाजिक सञ्जालमार्फत म्यासेज गरी सामानहरू मगाउनुभयो । सामान बिक्री गर्नुअघि पैसा जम्मा गर्नुपर्ने नियम सम्पर्क व्यक्तिले बताएपछि, उहाँले एक बैँकको खातामा ४ हजार र अर्को खातामा १५ हजार गरी जम्मा १९ हजार रकम पठाइदिनुभयो, तर सामान पठाउन विभिन्न बहाना गरी ढिलो गरियो । केही दिनपछि उक्त व्यक्ति सम्पर्कविहीन भयो ।

हेटौंडामै स्नातक तहमा अध्ययनरत एक विद्यार्थी रोशनी (नाम परिवर्तन) ले इन्स्टाग्राममा देखिएको अनलाइन जागिरको विज्ञापनमा विश्वास गर्दा ठगीमा पर्नुभयो । पढाइसँगै आम्दानी गर्ने आशामा उहाँले सम्पर्क गर्नुभएको थियो । सुरुमा थोरै रकम हाल्दा केही नाफा आएको देखाइएपछि ठूलो रकम लगानी गरे बढी कमिशन आउने लोभ देखाइयो । क्रमशः १९ हजार रुपैयाँ हालिसकेपछि ठगले थप ५० हजार माग्यो । त्यतिबेला आफू ठगिँदै गरेको थाहा पाएर पैसा फिर्ता माग्दा ‘इसेवामा छ’ भन्दै पछि सम्पर्कबिहीन बनाइयो । एक महिनाअघि उहाँले प्रहरीमा उजुरी दिनुभएको छ ।

यस्तै, कार्तिकमै हेटौँडाका रमेश (नाम परिवर्तन) लाई ह्वाट्सएपमार्फत फोन आयो । फोन गर्ने व्यक्तिले आफू बैंकको हेड अफिसबाट बोलिरहेको भन्दै केवाइसी भेरिफिकेसनको बहानामा स्क्रिन सेयर गर्न लगायो । स्क्रिन सेयर गरेकै क्रममा उहाँको खातामा रहेको तीन लाख रुपैयाँ अन्य व्यक्तिको खातामा ट्रान्सफर भयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा परेको उजुरीअनुसार अनुसन्धान गर्दा रकम गएको खाता फेक केवाइसीमा आधारित रहेको र संलग्न व्यक्ति फरार रहेको खुलेको छ । पुस महिनामा प्रेम (नाम परिवर्तन) लाई फेसबुकमार्फत् दुई लाख ८९ हजार रुपैयाँको लोटरी (चिठ्ठा) परेको भन्दै विश्वास दिलाइयो । लोटरी निकाल्न कर तिर्नुपर्ने बहानामा ८० हजार रुपैयाँ तिर्न लगाई ठगी गरिएको छ । पीडित व्यक्तिको लोटरी परेको भन्दै नक्कली कागजात, डुप्लिकेट भौचर र नेपाल भन्सारको फेक नम्बर प्रयोग गरी ठगी गरिएको प्रहरीको भनाइ छ ।

मंसिर महिनामा मिलन (नाम परिवर्तन) लाई पनि ह्वाट्सएपबाट फोन आयो । फोन गर्नेले आफू नेपाल बैंकको कर्मचारी भएको दाबी गर्दै केवाइसी भेरिफिकेसनका लागि मोबाइलमा आएको कोड दिन आग्रह ग¥यो । कोड सेयर गरेपछि उहाँको खाताबाट एक लाख ७० हजार रुपैयाँ अन्यत्र ट्रान्सफर गरियो र खातामै पहुँच लिई ठगी गरिएको पाइएको छ ।

त्यसैगरी, निरोज (नाम परिवर्तन) सामाजिक सञ्जालमा देखिएको सस्तो मूल्यमा महँगो सामान पाइने विज्ञापनको भरमा पर्नुभयो । सामान डेलिभरी गर्नुअघि भुक्तानी गर्नुपर्ने भन्दै क्युआर कोडमार्फत पैसा लिइयो । पछि ‘पैसा होल्डमा छ, रिलिज गर्न थप रकम हाल्नुपर्छ’ भन्दै फेरि पैसा मागियो । मोबाइलको सेटिङ मिलाउनुपर्छ भन्दै स्क्रिन सेयर गराउँदा खातामा रहेको सबै रकम निकालिएको पीडितले बताउनुभएको छ ।

उल्लेखित घटनाहरु मकवानपुरभित्र असोज यता घटेका प्रतिनिधिमूलक घटनाहरु हुन् । उल्लेखित बाहेक फेसबुक म्यासेन्जरबाट ब्ल्याकमेल गरेर गोप्य फोटोहरु तथा कुराकानीहरु सामाजिक सञ्जालमा पोस्ट गर्ने धम्की दिँदै पैसा असुल्ने, एक जनाको फेसबुक ह्याक गरी सो पेजमा आबद्ध साथीलाई पैसा सापटी माग्नेजस्ता घटनाहरु बढिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो वर्षहरुमा मकवानपुरमा प्रत्येक वर्ष डिजिटल अपराधको संख्या बढ्दै गएको छ । सामाजिक सञ्जालको दुरुपयोग गर्दै डिजिटल ठगी स्क्याम बढ्दै गएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।

सामाजिक सञ्जाल र मोबाइल बैंकिङको तीव्र विस्तारसँगै मकवानपुरमा साइबर ठगीका घटनाहरू भयावह रूपमा बढिरहेका छन् । अनलाइन जागिर, लटरी, सस्तो मूल्यमा महँगो सामान, बैंक केवाइसी भेरिफिकेसनजस्ता प्रलोभनमा तथा भ्रममा परेर विद्यार्थीदेखि कर्मचारी र व्यवसायीसम्मले लाखौं रुपैयाँ गुमाएका छन् । धेरैजसो पीडितले ठगी भएको थाहा पाउँदा ढिलो भइसकेको हुन्छ र पैसा फिर्ता हुने सम्भावना न्यून देखिन्छ ।

सामाजिक सञ्जालको दुरुपयोग गर्दै डिजिटल स्क्याम बढ्दै गएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । आर्थिक वर्ष २०८०/०८१ मा जिल्ला प्रहरीमा सामाजिक सञ्जाल दुरुपयोगका ४ सय ६९ जनाको उजुरी परेको थियो । यस्तै आब. २०८१/०८२ मा १ सय ७० जना र यसबर्षको ६ महिनाभित्र ४९ वटा सामाजिक सञ्जालमार्फत डिजिटल अपराधीकरणको उजुरी परेको देखिन्छ ।

यस्तै, अनलाइन मार्फत रकम ठगी वा स्क्याम गर्नेहरुमध्ये २ वर्षअघि एक वर्षमा ९४ वटा उजुरी परेकोमा गत आब २०८१÷०८२ मा यो संख्यामा अत्याधिक वृद्धि भई २ सय २३ वटा उजुरीहरु परे । यसवर्षको ६ महिनामा मात्रै ९६ वटा अनलाइनमार्फत रकम ठगी गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पैसाको प्रलोभन प्रमुख कारण
आम मानिसमा दुःख नगरी छिटो रकम कमाउने र अरुले फाइदा दिने कुरामा तत्काल लोभ लालच राख्ने प्रवृत्तिलाई स्क्यामरहरुले प्रयोग गर्ने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटी बताउनुहुन्छ । स्क्यामरले प्रलोभन देखाई पैसा पठाउन लाउने र ठगी गर्ने हुनाले कसैले अनलाइनमा प्रलोभन देखाउदा शंका गर्नुपर्ने सुझाव दिनुहुन्छ । प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार कुनै पनि बैंकले केवाइसी (व्यतिगत विवरण) अपडेट गराउँदा फोनबाट गराउँदैन र कुनै पनि नम्बर सेवाग्राहीसँग माग्दैनन् तर स्क्यामरहरुले माग्ने गर्दछन् । यस्तौ पैसा कारोबार गर्दा मोबाइलको स्क्रिन शेयर गर्न कतै पर्दैन ।

तर, अनलाइन ठगहरुले यी कार्य गर्न निर्देशन दिन्छन् । यस्ता निर्देशन नमानी सम्बन्धित बैंकमा फोन गरेर सोध्नु राम्रो हुने उहाँको सुझाव छ । यस्तै, अनलाइन सामान मगाउँदा डेलीभरी भएपछि मात्रै तिर्ने र अधिकांश अनलाइन इन्भेष्टमेन्ट तथा लोटरीहरु झुटा पैसा असुल्न वा ठग्ने उद्देश्यले डिजाइन गरेका कार्यक्रम हुनाले पनि विश्वास नगर्न उहाँले जानकारी दिनुभयो ।

कारबाही अत्यन्त न्यून
जिल्लास्थित प्रहरी कार्यालयहरुमा डिजिटल स्क्याम खोजी गर्नसक्ने हाइटेक प्रविधि उपलब्ध छैनन् । यसकारणले जिल्ला प्रहरीले केन्द्रीय साइबर ब्युरो भोटाहिटीमार्फत अनुसन्धान कार्य अघि बढाउँदै आएको छ । यस्ता अनलाइन ठगी एक व्यक्तिले भन्दा पनि समूह वा सांगठनिक रुपबाट भइरहको हुँदा प्रहरीले प्रकाउ गरी कारबाही गर्न वा मुद्दा दर्ता गर्न थोरैमात्र सफल भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ४ वर्षयता ६ जनालाई पक्राउ गरी मुद्दा दायर गरेको छ ।

साइबर अपराध देशभित्र मात्र होइन, विदेशबाट पनि हुने भएकाले अनुसन्धान जटिल हुने उहाँले बताउनुभयो । अत्याधुनिक प्रविधि र तालिम प्राप्त प्राविधिक आवश्यक पर्ने भएकाले ठगीमा परिसकेपछि पैसा फिर्ता हुने सम्भावना न्यून रहने उहाँको भनाइ छ । डिजिटल ठगीको घटना प्रहरी अनुसन्धानका लागि समेत अत्यन्त चुनौती रहेको प्रहरीको भनाइ छ ।

स्क्यामबाट बच्न हामीले के–के गर्ने ?
सामाजिक सञ्जालमा देखिने अनलाइन जागिर, लोटरी, सस्तो सामान र बैंक केवाइसीका नाममा आउने फोन तथा सन्देशप्रति उच्च सतर्कता अपनाउन प्रहरी नायब उपरीक्षक बोगटीले आग्रह गर्नुभएको छ । नचिनेको व्यक्तिको फोन नउठाउने, शंकास्पद लिंक नखोल्ने, स्क्रिन सेयर र ओटीपी वा कोड सेयर नगर्ने, साथीको आइडीबाट पैसा मागिरहेको छ भने फोनबाट सोधेर निश्चित गर्ने सुझाव दिनुभएको छ ।

अनलाइन इन्भेष्टमेन्ट भन्दै पैसा लगानी गर्न उक्साउँदा प्रलोभनमा नपर्ने, लोटरी आफूले भर्दामात्र पाइने कुरा हुनाले आफूले नभरेको लोटरीको विश्वास नगर्ने तथा लोटरीकर्ताले लोटरी झिक्न पैसा मागेमा ठगीको प्रयास भनेर बुझ्नुपर्ने उहाँले जानकारी दिनुभयो । अनलाइन सपिङ गर्दा सामान प्राप्त भएपछि मात्र पैसा तिर्नेजस्ता कामहरु नै साइबर ठगीबाट जोगिने प्रमुख उपाय भएको प्रहरीले स्पष्ट पारेको छ । सर्वसाधारणमा डिजिटल साक्षरता बढाए मात्रै यो ठगीबाट बच्न सकिने प्रहरीले जनाएको छ । यसका लागि विद्यालय, टोल विकास तथा अन्य संघसंस्थाहरुले डिजिटल साक्षरता तालिम दिने तथा सञ्चार माध्यमहरुले ठगी हुनसक्नेबारे जानकारीमूलक सूचना प्रदान गर्नुपर्नेमा प्रहरीले जोड दिएको छ ।