हेटौँडाः बागमती प्रदेश सरकारबाट बिग स्कूलमा छनोट भएको हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयले आइतबारदेखि ५० औँ वार्षिक उत्सव (स्वर्ण महोत्सव) मनाउने भएको छ । मंगलबार विद्यालयले पत्रकार सम्मेलन आयोजना गरी स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिने कार्यक्रमबारे जानकारी गराएको हो ।

विद्यालयले माघ ४ गतेदेखि ८ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ । यसअघि स्वर्ण जन्यतीको पूर्वसन्ध्यामा विद्यालयले बिहीबार र शुक्रबार दुई दिने आँखा परीक्षण शिविर र सोमबार दन्त परीक्षण शिविर सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले बताउनु भयो । आउँदो शुक्रबार विद्यालय हाता सरसफाई, रङरोगन र शनिबार रक्तदान कार्यक्रम आयोजना गरिने विद्यालयले जनाएको छ ।

आइतबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा स्वर्ण महोत्सव उद्घाटन हुनेछ । सोही दिन स्वर्ण स्तम्भ अनावरण, स्मारिका विमोचन र सम्मान कार्यक्रम हुने विद्यालयले जनाएको छ ।

माघ ५ गते पूर्वविद्यार्थी भेला र विविध अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिनेछ । माघ ६ गते माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता, वृहत् सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण गरिनेछ । हाजिरीजवाफ प्रतियोगिताको लागि प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार २५ हजार, तृतीय पुरस्कार १५ हजार र सान्त्वना पुरस्कार ५ हजार रुपैयाँ २ नम्बर वडा कार्यालयले व्यवस्था गरेको छ । महोत्सवको समापन कार्यक्रम माघ ८ गते हुनेछ ।

व्यक्तिगततर्फ १० हजार र संस्थागततर्फ २० हजार रुपैयाँ सहयोग गर्ने दाताहरुको नाम स्वर्ण जयन्ती स्तम्भमा लेखिने विद्यालयले जनाएको छ । महोत्सवमा ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । हालसम्म २० लाख रुपैयाँभन्दा बढी सहयोग प्राप्त भएको र सहयोग आउने क्रम जारी रहेको विद्यालयका प्रधानाध्यापक कर्णले बताउनु भयो ।

महोत्सव सम्पन्न गर्न वडा नम्बर २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति र ४० सदस्यीय सचिवालय गठन गरिएको छ । विद्यालयमा एक हजार ७ सयभन्दा बढी विद्यार्थीहरु नियमित अध्ययनरत छन् । सरकारी अनुदान दरबन्दीतर्फ ४२ जना र निजी स्रोततर्फ ३५ जना गरी विद्यालयमा ७७ जना शिक्षक र कर्मचारीहरु रहेका छन् ।

स्वर्ण महोत्सवपछिको पहिलो दशकसम्म ‘सिद्धार्थको अगामी दशक, प्रविधिमैत्री दक्ष शिक्षक’ नारासहित शिक्षकहरुको लागि प्रविधिमैत्री तालिमको व्यवस्था गरिने प्रधानाध्यापक कर्णले बताउनु भयो । शिक्षकलाई परम्परागत शिक्षण सिकाइभन्दा युग सुहाउँदो खोजमूलक तथा अनुसन्धानमूलक विद्यार्थी केन्द्रित पठनपाठनप्रति अभ्यस्त गराउनुपर्ने उहाँको भनाइ छ ।

पत्रकार सम्मेलनमा स्वर्ण जयन्ती मूल समारोह समितिका संयोजक महर्जनले भवनमात्रै राम्रो भएर हुँदैन, पढाइ राम्रो हुने विश्वास व्यक्त गर्नुभयो । विद्यालयमा राजनीति बढी हुने गरेको परिणाम स्वरुप विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको उहाँको भनाइ छ । विद्यालयमा छिट्टै डिजिटल एआई बोर्डको व्यवस्थापन गरिने उहाँले बताउनु भयो ।

मूल समारोह समितिका संयोजक महर्जनको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामचन्द्र ढकाल, नेपाल पत्रकार महासंघ बागमतीका उपाध्यक्ष हरि हुमागाईं र नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको उपस्थिति थियो ।