हेटौँडाः जिल्लास्तरीय शिक्षक नृत्य प्रतियोगितामा हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा (जीएस) निकेतन मावि प्रथम भएको छ । बुधबार हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा जीएस निकेतन प्रथम भएको विद्यालयका प्राधानाध्यापक प्रबोध बिडारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा हेटौँडा–८, कमानेस्थित कमाने एकेडेमीले दोस्रो, हेटौँडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयले तेस्रो र मकवानपुर एभरेष्ट बोर्डिङ स्कूलले चौथो स्थान हासिल गरेको छ । प्रतियोगितामा जिल्लाभरीका विभिन्न १४ वटा विद्यालयका शिक्षकहरुको सहभागिता थियो ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने विद्यालयले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी प्रतियोगितामा सहभागी अन्य विद्यालयहरुले सान्त्वनास्वरुप ३÷३ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

स्वर्ण महोत्सवकै अवसरमा विद्यालयले आयोजना गरेको पालिकास्तरीय भलिबल प्रतियोगिता बुधबार सुरु भएको छ । प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ ।

बुधबार भएको खेलमा हेटौँडा उपमहानगरपालिकाले मकवानपुरगढी गाउँपालिककालाई २५–१७ र २५–१५ ले पराजित गरेको छ । मनहरी गाउँपालिकाले थाहा नगरपालिकालाई २५–२१, २२–२५ र १६–१४ ले पराजित गरेको हो । यस्तै, आयोजक निर्मल माध्यमिक विद्यालयले ईन्द्रसरोवर गाउँपालिकालाई २५–२१ र २९–२७ ले पराजित गर्दा मनहरी गाउँपालिकाले मकवानपुरगढी गाउँपालिकालाई २५–१७ र २६–२४ ले पराजित गरेको छ ।

बुधबार नै विद्यालयले प्रत्यक्ष लोक–दोहोरीलगायत अन्य कार्यक्रमहरु आयोजना गरेको प्रधानाध्यापक बिडारीले जानकारी दिनुभयो । विद्यालयले मंगलबारदेखि शनिबारसम्म विविध कार्यक्रम आयोजना गरी स्वर्ण महोत्सव मनाउँदैछ ।