संघीय राजधानी काठमाडौं र प्रदेश राजधानी हेटौँडा आवतजावत गर्ने थुप्रै सडक मार्गहरु छन् । देशकै पहिलो राजमार्ग त्रिभुवन राजपथदेखि निर्माणाधीन देशकै पहिलो दु्रतमागले समेत काठमाडौं र हेटौँडालाई जोड्छ । ठूला र भारी सवारी साधन अझै पनि नारायणगढ, मुग्लिन, नौबिसे हुँदै लामो दुरी पार गरेर काठमाडौं जानुपर्ने बाध्यता भए पनि साना सवारी साधनका लागि हेटौँडाबाट काठमाडौं जान वैकल्पिक बाटोहरु छन् । हेटौँडाबाट भीमफेदी हुँदै कुलेखानी पुगेपछि सिस्नेरी, फाखेल र चित्लाङ भएर जाने छुट्टाछुट्टै सडक छन् । फाखेल भएर जाने सडक पनि चखेल हुँदै थानकोट निस्कने र हुमाने–फर्पिङ हुँदै बल्खु निस्कने विकल्प छन् । हेटौँडाबाट काठमाडौं जाने कान्ति लोकपथ पनि छ । यति धेरै सडक सञ्जाल सञ्चालनमा रहे पनि सुविधायुक्त र भरपर्दो सडक भने कुनै छैनन् ।
हेटौँडा प्रदेशको राजधानी भएपछि प्रदेश सरकारको प्राथमिकतामा परेको छोटो दूरीको हेटौँडा–कुलेखानी–काठमाडौं सडक विस्तार र स्तरीकरणको काममा बजेट अभाव भएको छ । धेरै वर्ष अघिदेखि स्तरीकरण भइरहेको उक्त सडकका लागि पर्याप्त बजेट विनियोजन हुन नसक्दा स्रोत अभाव देखिएको हो । बागमती प्रदेश सरकारको महत्वपूर्ण आयोजना अन्तर्गत उक्त क्षेत्रमा २ वटा सडकहरु छन् । प्रदेश सरकारको बजेटबाट हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौं र हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौं सडक निर्माण भइरहेको छ । प्रदेश सरकार स्थापना कालबाटै स्तरीकरणको काम सुरु गरिएको भए पनि सडक स्तरोन्नतिको काम सम्पन्न हुन सकेको छैन । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको २ वटा निकायबाट हरेक वर्ष बजेट छुट्याएर सो सडकको स्तरोन्नति कार्य भइरहेको भए पनि काम पूरा हुन सकेको छैन । प्रदेश सरकारले २०७९ सालबाट सिस्नेरी सडकलाई प्रदेश लोकमार्ग र फाखेल सडकलाई प्रदेशमार्ग अन्तर्गत राखेको भए पनि सडक निर्माणका लागि प्राथमिकताअनुसार बजेट व्यवस्था हुन सकेको छैन ।
संघीय सरकारले थानकोटबाट चित्लाङ र चखेल आउने सडक र प्रदेश सरकारले फाखेल र सिस्नेरीतर्फको २–२ वटा सडक निर्माण गराइरहेको भए पनि एउटै सडक निर्माण पूरा हुन सकेको छैन । प्रदेश सरकार मातहतको दुई वटा सडकखण्डको सुधार तथा स्तरोन्नति कार्य बजेट अभावका कारण अन्योल देखिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले आवश्यक बजेट उपलब्ध नगराउँदा सो सडकको काम अघि बढाउन कठिनाइ भएको हो । सरकारले चालु आर्थिक वर्षको बजेट शीर्षकमा हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौं सडकका लागि १ करोड रुपैयाँमात्र विनियोजन गरेको छ । उक्त सडकको करिब ६ किलोमिटर सडक निर्माण गर्न बाँकी छ । वैकल्पिक मार्गको रुपमा रहेको सिस्नेरी–दक्षिणकाली सडकखण्डका लागि पनि पर्याप्त बजेट विनियोजन हुन सकेको छैन । सो सडकको पनि करिब २ किलोमिटर बाटो बनाउन बाँकी रहेको छ ।
कुलेखानीबाट सिस्नेरी र फाखेल हुँदै जाने दुईवटै सडक निर्माणका लागि यसअघिका ठेक्का सम्झौताअनुसारको काम सम्पन्न भइसकेको छ । बाढीले क्षति पु¥याएका र बाँकी रहेका भागहरुमा नयाँ ठेक्का प्रक्रिया सुरु गर्नुपर्ने अवस्था रहेको भए पनि पर्याप्त स्रोत (बजेट) नहुँदा उपेक्षित बनेको छ । हेभीबाट कलंकीसम्मको सडक, केही पुल र अन्यत्रको ८–१० किलोमिटर सडक स्तरीकरण भएमा कुलेखानीबाट काठमाडौंसम्मको यातायात सञ्चालन निकै सहज हुने भएकाले प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्नु आवश्यक छ । आवश्यक बजेट व्यवस्था गरेर चाँडै यो सडकखण्ड स्तरीकरणको काम सम्पन्न भएमा हेटौँडा–काठमाडौं आवतजावतमा निकै सुविधा हुने निश्चित छ ।











