छात्रवृत्ति अक्षयकोषमा सहयोग गर्नुहुने दाता बसन्त रोक्कालाई सम्मान गरिँदै ।

हेटौँडा: हेटौँडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले साताव्यापी कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव समारोह सम्पन्न गरेको छ । सोमबार एक समारोहका बीच साताव्यापी कार्यक्रमसहित स्वर्ण महोत्सव समारोह सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बस्ताकोटीको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा स्वर्ण महोत्सव समारोह भएको हो ।

स्वर्ण महोत्सवको अवसरमा विद्यालयले घोषणा गरेको अक्षयकोषमा ४० लाख रुपैयाँ सहयोग संकलन भएको छ । अक्षयकोषमा विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारी, पूर्वविद्यार्थी, सल्लाहकार, स्थानीय समाजसेवीले सहयोग गरेका छन् । करिब एक महिनाअघिदेखि सुरु गरेको स्वर्ण महोत्सवको अवसरमा दुई साता अघि मात्रै अक्षयकोष स्थापना गर्न सहयोगका लागि आव्हान गरिएको थियो ।

अक्षयकोषमा सहयोग गर्नेलाई सोमबार स्वर्ण महोत्सवको अवसरमा कदर गरिएको थियो । विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईका अनुसार अझै सहयोग संकलनको कार्य जारी रहेकोले एक सातापछि अक्षयकोषमा ५० लाख रुपैयाँ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । विद्यालयले गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी अक्षयकोष स्थापना तथा सञ्चालनका लागि विधान समेत तयार भएको उहाँको भनाइ छ । अक्षयकोषमा विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीबाटै ८ लाख रुपैयाँ सहयोग संकलन भएको छ ।

स्वर्ण महोत्सवको अवसरमा जनप्रिय माविले स्वर्ण महोत्सव स्तम्भ समेत अनावरण गरेको छ । मुख्यमन्त्री बानियाँले स्वर्ण महोत्सव स्तम्भ अनावरण गर्नुभएको हो । यस्तै विद्यालयले स्मारिका समेत प्रकाशन गरेको छ । स्वर्ण महोत्सवको अवसरमा सहयोगी, पूर्वप्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीलाई सम्मान गरेको छ । विद्यालयले स्वर्ण महोत्सवको अवसरमा आयोजित साताव्यापी खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी, वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । स्वर्ण महोत्सवकै अवसरमा जनप्रिय माविले विद्यालयको वृत्तचित्र समेत तयार पारेको छ । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा २ हजार विद्यार्थी अध्ययनरत छन् । स्वर्ण महोत्सव समारोहमा शिक्षक सेवा आयोगका सदस्य रामशरण सापकोटा, वडाध्यक्ष राकृष्ण कोइराला र सुनिल मोक्तानको पनि आतिथ्य रहेको थियो ।