कोरोना भाइरसको सङ्क्रमणबाट बच्न र सुरक्षाका उपायहरु अपनाउन दिनहुँ पटक–पटक रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन लगायतका सञ्चार माध्यममा जानकारी तथा सूचना प्रवाह भइरहेका छन् । यता कोरोना सङ्क्रमण न्युनीकरण हुनुको सट्टा झन् विकराल स्थिति निम्त्याउने गरी सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । विदेशी भूमिमा देखा परेको सङ्क्रमण देश, प्रदेश, जिल्ला, गाऊँपालिका/नगरपालिका, वडा, टोल टोल हुँदै अब घर परिवारमै प्रवेश गर्दै छ । अब त कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या शतक अङ्कभन्दा उकालो लाग्दै छ । सञ्चार माध्यममा यी र यस्ता समाचारमूलक/विचारमूलक सामग्री आइरहँदा म आफैँ घोत्लिन पुग्छु । ‘मैले आफैँले आफूलाई कोरोना सङ्क्रमणबाट बचाउन के कस्ता उपायहरु अपनाएँ त ?’ ‘चिकित्सकहरुले सुझाएका सुझावहरु कत्तिको पालना गरेँ त ?’
म अझै पनि कार्यालय र भेटघाटमा अरुले सर्भ गरेका पानी, चिया, खाजा खाँदै छु । एकअर्कासँग कलम माग्ने बानी कायमै छ । मोबाइलको व्यालेन्स सकिएछ, खै खै हजुरको मोबाइल पाउँ त एकै मिनेट, भनेर माग्न पनि छोडिएन छ । जस्तो हातले जति बेला पनि मोबाइल फोन प्रयोग गर्ने र त्यसलाई त्यत्तिकै राखेर पुनः प्रयोग गर्न पनि त कहाँ छोडेको छु र ? मलाई केही हुन्न भन्ने दम्भ छँदै छ । आफन्त, छिमेकी र साथीहरुसँग कोठे जमघट र उठबस गर्न छाडेको छैन । होटलमा बनाएका खाजा/खाना किनेर खाने/ल्याउने पनि गरेकै छु । साँझ बिहान टोल–टोलमा जम्मा भएर देशको मात्र होइन संसारकै खबर विश्लेषण नगरी सन्तोष पनि त लाग्दैन नि ।
मास्क मुख, नाक छोपेर भन्दा कान र च्युँडोमा लगाउँछु । बोल्दा/खोक्दा मास्क फुकाल्ने मेरो बानी छ । मास्क त प्रहरीले लिने जरिवानाबाट बच्नका लागि लगाउने हो । हात त सम्झेको बेलामा मात्रै धुने बानी छ । हातले नाक, मुख, कानतिर चलाइरहने बानी पनि त छ नि मेरो । एक अर्काबीच भौतिक दूरी कायम गर्ने त नचिनेको मान्छेसँग मात्र हो । तरकारी र किराना सामान किन्ने बहानामा हरेक दिन पसल पुगेकै छु । काम नपरे पनि वा धेरै काम एकै दिन गर्न मिल्ने भए पनि बारम्बार घर बाहिर निस्केकै छु । बैंकिङ तथा आर्थिक कारोबारका लागि अनेकौँ विद्युतीय उपायहरु भए तापनि बिजुली, टेलिफोन, खानेपानीको बिल तिर्न पनि कार्यालयमै पुगेकै छु ।
ओहो ! मैले त निकै जोखिम पो मोलिरहेको रहेछु । यी र यस्ता काम नगर्न निकै प्रचारप्रसार भए तापनि वा आफैँले अरुलाई सतर्क रहन सुझाव दिए तापनि आफैँले त सतर्कता अपनाएको रहेनछु । कतै मलाई कोरोना भाइरसको सङ्क्रमण भइसकेको त छैन ? केही दिन अघिदेखि आफ्नो सम्पर्कमा रहेका कोही व्यक्तिमा पनि सङ्क्रमण देखिएको खबर नआएकाले आफू पनि सुरक्षित हुँला भन्ने तर्कबाट चित्त बुझाउँछु । अब जताततै सङ्क्रमणले आफ्नो उपस्थिति देखाइसक्दा पनि मैले आफूलाई सुधार नगर्नु सिधै कोरोना भाइरसलाई निम्तो दिएसरह हुनेछ ।
अब मैले आफ्नो दैनिकीमा सुधार ल्याउनु अनिवार्य छ । घर परिवार र कार्यालयमा जाँदा मैले गर्नुपर्ने कार्यहरुको सूची बनाउँछु । जोसुकै पनि कोरोना सङ्क्रमित हुनसक्ने सम्भावना बुझी अब सबैजनासँग भौतिक दूरी कायम गर्न जरुरी छ । सकेसम्म घरबाहिर ननिस्कने, निस्कनै पर्दा आवश्यक सुरक्षाका उपाय अपनाउनु अनिवार्य रहेको तथ्य स्वीकार गरी दैनिकी चलाउनु छ । साबुन, स्यानिटाइजर, माक्स, पञ्जा आदिको उचित प्रयोग गर्नु छ । रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने खालका तथा औषधिजन्य खानेकुरा सङ्कलन र प्रयोग गर्नु छ । कागती पानी, जडिबुटिजन्य चूर्ण, पानी, पानीको वाफ, नास्ता, खाना आदिको तालिका निर्माण गरी सोहीअनुसार सेवन गर्न थाल्छु । बिहान उठ्ने, योग प्राणायाम, अध्ययन, मनोरञ्जन, शारीरिक अभ्यास, आराम आदिको तालिका निर्माण र उपयोग गर्न थाल्छु । मनमा केही ढुक्क र सुरक्षित भएको महशुस हुन्छ ।
फेरि अर्को मनमा प्रश्न खेल्छ, यी र यस्ता कार्यहरु नियमित गरिरहँदा के मलाई कोरोना भाइरस लाग्दैन भन्ने छ त ? यति गर्दा गर्दै पनि मलाई सङ्क्रमण हुन सक्दछ । म पनि यही समाजको एक नागरिक हुँ । अरु पनि मजस्तै नागरिक त सङ्क्रमित भएका हुन् । यदि मेरो सम्पर्कमा रहेका कोही व्यक्तिमा सङ्क्रमण पुष्टि भएमा वा आफैँमा त्यस्ता लक्षण देखा परेर परीक्षण गर्दा म आफैँमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुन सक्दछ । सङ्क्रमण पुष्टि भएको जानकारी पाउँदा आफूलाई कसरी सम्हालुँला ? परिवारका सदस्यलाई के भनेर बताउँला ? परिवारको प्रतिक्रिया कस्तो रहला ? मेरो परिवारले कसरी आफूलाई सम्हाल्ला ? परिवारको पनि परिक्षण गर्नुपर्ला । अनि परिवारको पनि त ……. । एम्बुलेन्स मेरो घरअगाडि आएर रोकिँदो हो, परिवारहरु रोइकराइ गर्लान्, छिमेकीहरु चुपचाप हेरिरहलान्, म आफ्नो आवश्यक लत्ताकपडा लिएर एम्बुलेन्स चढुँला । कोरोना सङ्क्रमण भएकै कारण छरछिमेकीले छिःछिः दुर्दुर गरेका समाचारजस्तै मलाई पनि त्यस्तै किन नहोला र ? आजको युगमा पनि मानिसलाई रोग लागेकै कारण छिःछिः दुर्दुर गर्ने समाजको मानसिकता कहिले बदल्न सकिएला ? यसर्थ मैले आफ्नो आत्मबल जुटाउन आवश्यक छ । कथंकदाचित् मलाई नै सङ्क्रमण देखा परेमा पनि सामान्यीकरण गर्ने क्षमता विकास गर्नु छ ।
सुनिन्छ, कोरोना सङ्क्रमितलाई आइसोलेसनमा समेत राम्रो व्यवहार र उचित हेरचाह गरिन्न । ओहो जहाँसुकै किन यति नकारात्मक विचारधारा भएका मानिसहरु होलान् ? सङ्क्रमितलाई मनोबल बढाउने व्यवहार पो गर्नुपर्ने । सङ्क्रमितलाई त प्रतिरोधात्मक क्षमता विकास गर्ने खानाको व्यवस्था पो गर्नु पर्ने । उचित हेरचाह र उपचारबाट सङ्क्रमितको पूर्ण स्वास्थ्यलाभ हुने व्यवहार पो हनु पर्ने । हुनतः हरेक ठाउँमा कोही न कोही गलत मानसिकताका मानिस भइहाल्छन् नि । सबैलाई एउटै तराजुमा राखेर जोख्न कहाँ मिल्छ र ? दिनरात, भोकप्यास, निद्राथकान सबै त्यागेर अनि आफैँ समेत उच्च जोखिममा रहेर सङ्क्रमितहरुको सेवामा लागिपरेका स्वास्थ्यकर्मीहरु पनि त छन् नि । उनीहरुको यस्तै सकारात्मक व्यवहारबाट अधिकांश सङ्क्रमितहरु स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन् । ओहो यस्ता स्वास्थ्यकर्मीहरुको योगदानलाई कुन शब्दले प्रशंसा गर्न सकिएला र ?
अब त हाम्रो समाज पनि बिस्तारै बिस्तारै कोरोना भाइरससँग अभ्यस्त हुन खोज्दै छ । शुरुशुरुमा सङ्क्रमण पुष्टि भएका हाम्रै टोल छिमेकका व्यक्तिहरु पनि पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् । आखिर यो पनि अन्य रोगझैँ त रहेछ नि । अझ सुन्छु, यसको भाइरस अत्यन्तै कमजोर हुन्छ तर समयमा उचित ध्यान दिन नसक्दा भने यो खतरापूर्ण हुनसक्छ । अनेक कुरा मनमा खेलाउँदै कोरोना भाइरसँग सतर्क हुनुपर्ने तर आत्तिन नहुने, सचेत हुनुपर्ने तर रोइकराइ गर्न नहुने, सुरक्षित रहनु पर्ने तर सङ्क्रमण पुष्टि भइहालेमा पनि आकासै खसेझैँ गर्न नपर्ने निष्कर्ष निकाल्छु ।
‘सचेत रहौँ, सुरक्षित रहौँ, नआत्तिऔँ ।’