हेटौंडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा शनिबार छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जना घाइते भएका छन् ।

मनहरी गाउँपालिका–७ बिजौनामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । शनिबार दिउसो पुर्व पश्चिम सडक खण्डमा चितवनबाट मनहरीतर्फ आउँदै गरेको ना ४१ प ६६१३ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही स्थान बस्ने ७० वर्षीय कृष्ण प्रसाद पन्तलाई ठक्कर दिँदा दुईजना घाइते भएको बागमति प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

दुर्घटनामा पैदलयात्रीसहित मोटरसाइकल चालक सोही स्थान बस्ने २१ वर्षीय किशन मोक्तान घाइते भएका हुन् । उनीहरुलाई मनहरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनतर्फ पठाइएको प्रहरी जनाएको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको छ ।

यस्तै, मनहरी गाउँपालिका–६ भुल्चोकमा पुर्व पश्चिम राजमार्गमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा ३ जना घाइते भएका छन् । शनिबार दिउँसो पुर्व पश्चिम सडक खण्डमा चितवनबाट हेटौडातर्फ आउँदै गरेको सु प प्र ०१–०१३ प ६५३ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट जाँदै गरेको ना ४३ प ३३४९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरी जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक बैतडी जिल्लाको जिवनाथ गाउँपालिका–५ निवासी २९ वर्षीय राम दयाल र पछाडी सवार निजको श्रीमती २५ वर्षीय सरस्वती पोखरेल घाइते भएका छन् । यसैगरी स्कुटर चालक धादिङ जिल्लाको गजुरी गाउँपालिका–२ मलेखु घर भई हाल नवलपरासी जिल्लाको नवलपरासी नगरपालिका–२ बस्ने रमेश विशुन्के घाइते भएका छन् । घाइते तिनै जनालाई उपचारका लागि चितवनतर्फ पठाइको छ । मोटरसाइकल र स्कुटर जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।