हेटौँडा : मकवानपुरका भलिबल खेलाडी सन्तोष श्रेष्ठ १९ वर्ष उमेर समूहको राष्ट्रिय महिला भलिबल टिमको सहायक प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै श्रीलंका प्रस्थान गर्दै हुनुहुन्छ ।
श्रीलंकामा मंगलबारदेखि आइतबारसम्म हुने काभा सेन्ट्रल एसियन भलिबल च्याम्पियनसीपमा सहभागी हुन सन्तोषसहित १९ वर्ष उमेर समूहको १५ सदस्यीय राष्ट्रिय महिला भलिबल टिम आइतबार राती १०ः३० बजेको उडानमा श्रीलंका प्रस्थान गर्ने तालिका छ । मुख्य प्रशिक्षकको जिम्मेवारी कुमार राईले पाउनुभएको छ । राई न्यू डायमण्ड क्लबको प्रशिक्षक हुनुहुन्छ । नेपालले जेनिशा बिश्वकर्माको कप्तानीमा खेल्नेछ ।
प्रतियोगितामा सहभागिताका लागि असोज ५ गतेदेखि बन्द प्रशिक्षण सञ्चालन गरिएको सहायक प्रशिक्षक श्रेष्ठले जानकारी दिनुभएको छ । प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने आशा गरिएको बताउनुभएको छ । प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, किर्गिस्तान र माल्दिभ्स सहभागी छन् । सुपर लिगमा आधारित हुने प्रतियोगितामा सहभागी टिमले ५ वटा खेल खेल्नेछ । नेपाल भलिबल संघले शनिबार एक कार्यक्रमका बीच राष्ट्रिय टिमको विदाई कार्यक्रम गरेको थियो । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको उपस्थितिमा विदाई कार्यक्रम भएको हो ।










