हेटौँडा : हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा सम्पर्कविहीन हुनुभएको छ । नगरप्रमुख लामाको मोबाइल नम्बर लाग्दैन। हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले नगरप्रमुख सम्पर्कविहीन भएको बताउनुभयो ।

नगरप्रमुख लामा सम्पर्कविहीन भनिए पनि उहाँ कोरिया भ्रमणमा निस्कनुभएको हेटौँडा उपमहानगरकाका एक अधिकृतले जानकारी दिनुभयो । नगरप्रमुख लामा र उहाँका सल्लाहकार कृष्ण धिताल दक्षिण कोरिया जानुभएको स्रोतको भनाई छ ।यता गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण तोडफोडबाट उपमहानगरपालिकाको कार्यालय नियमित सन्चालनमा आइनसकेको अवस्थामा नगरप्रमुख लामा कुन प्रयोजनका लागि कोरिया जानु भएको भन्ने यकिन हुन सकेको छैन । ’हेटौँडा उपमहानगरपालिकाको प्रमुखलाई अन्तर्राष्ट्रिय समुदायबाट विभिन्न कार्यक्रममा सहभागी हुन सातामा १० वटा जति निम्तो आउँछ’, हेटौँडा उपमहानगरका एक अधिकृतले भन्नुभयो, ’कुन कार्यक्रममा जाने–नजाने नगरप्रमुखकै कुरा हो। प्रदेशको राजधानी सहरको रूपमा रहनु, महिला, जनजाति समुदायको नगरप्रमुख हुनुले पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण भइरहन्छ ।’

नगरप्रमुखको अन्तर्राष्ट्रिय भ्रमणका बारेमा पालिकाका अधिकारी नै बेखबर छन्। अन्तर्राष्ट्रिय भ्रमणको विषयमा उपमहानगरले औपचारिक जानकारी गराउने प्रचलन पनि छैन। नगरप्रमुख लामाको अन्तर्राष्ट्रिय भ्रमणको व्यवस्थापनको जिम्मा नगरप्रमुखका विज्ञ सल्लाहकार कृष्ण धिताललाई दिइएको छ। दक्षिण कोरिया भ्रमणमा नगरप्रमुखका विज्ञ सल्लाहकार धिताल पनि सहभागी हुनुभएको बुझिएको छ।

’नगरप्रमुख लामाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा भ्रमणको विषयमा उहाँका विज्ञ सल्लाहकारले नै सबै व्यवस्थापन गर्ने भएकोले हामीलाई केही थाहा हुन्न’, उपमहानगरमा अधिकृतले भन्नुभयो, ’कोरिया भ्रमणको सन्दर्भमा पनि हामीलाई केही थाहा भएन । नगरप्रमुख लामा र विज्ञ सल्लाहकार धिताल दुबैजनाको फोन लाग्दैन ।’ नगर सरकारका प्रमुखको अन्तर्राष्ट्रिय भ्रमणको विषयमा उपमहानगरपालिकाको कार्यालय नै बेखबर हुनु अस्वाभाविक ठानिएको छ। नगरप्रमुखको सचिवालयकी कर्मचारी रुपा विडारीले भने नगरप्रमुख लामा काठमाडौंमै रहनुभएको दावी गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले बताउनुभयो। ’नगरप्रमुख ज्यूको मोबाइल लागेको छैन। उहाँकी स्वकीय रुपा विडारीलाई सोध्दा उहाँ काठमाडौंमै हुनुहुन्छ भन्नुभयो।’

यसअघि असार अन्तिम साता नगरप्रमुख लामा द्वन्द्वग्रस्त मुलुक इजरायल जानु भएको थियो। नगरप्रमुखमा निर्वाचित हुनुभएपछि लामाको यो आठौं मुलुकको भ्रमण हो। नगरप्रमुख लामाको भ्रमणको विषयमा बुझ्ने प्रयास गर्दा नगर उपप्रमुख राजेश बानियाँको फोन उठेन।