पत्रकारहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ।

हेटौँडा : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक निकासको लागि निर्वाचन आवश्यक रहेको बताउनुभएको छ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको कांग्रेस मकवानपुरको पार्टी कार्यालयको अवलोकन पछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले घाइते अवस्थामा रहेको संविधानलाई स्वस्थ बनाउन फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन हुनुपर्ने बताउनुभयो ।

‘राष्ट्रपति, संविधान, राष्ट्रियसभा, प्रदेश संरचना र स्थानीय तहलाई निर्वाचनमार्फतै रिफ्रेस गर्न सकिने भएकाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनुपर्छ,’ उहाँले भने, निर्वाचन हुने वातावरण बनाउन कांग्रेसले सहयोग गर्छ ।’ सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सफलता कांग्रेसले खोज्ने उहाँको भनाइ थियो ।

महामन्त्री शर्माले वर्तमान सरकार असफल भए लोकतन्त्र नै धरापमा पर्ने चेतावनी पनि दिनुभयो । मन्त्रीपरिषद्मा योग्य व्यक्तिहरु आए पनि जेनजी युवाको प्रतिनिधित्व नदेखिएको प्रति भने उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । यस्तै भदौ २३ र २४ गतेका घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने आवश्यकता पनि उहाँले जोड दिनुभयो ।

विगतमा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामको जिम्मा लिनु पर्ने तर नराम्रा कामको आलोचना गर्न सकिने उल्लेख गर्दै महामन्त्री शर्माले घटनाको छानबिन र कारबाहीमा कांग्रेसले अन्तरिम सरकारलाई साथ दिने बताउनुभयो । सरकारी संरचना र व्यवसायिक प्रतिष्ठानमा भएको आगजनी तथा तोडफोड जेनजीको भावना अनुरुप नभएको उहाँले दावी गर्नुभयो ।

‘जेनजीको नाममा अराजक गतिविधि गर्नेहरूमाथि कारबाही गर्नु सरकारको दायित्व हो । हामी शान्तिपूर्ण आन्दोलनमा छौं, तोडफोड र आगजनीविरुद्धको आवाज जेनजी पुस्ताबाटै आउनुपर्छ ।’

महामन्त्री शर्माले विगतका राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भए पनि हालको आन्दोलनले कांग्रेसलाई परिवर्तन हुन सन्देश दिएको स्पष्ट पार्नुभयो । फरक–फरक विचारलाई सम्बोधन गर्दै साझा धारणा बनाउने तयारीमा पार्टी केन्द्रिय समितिको बैठक बस्ने र विधान संशोधनमार्फत जेनजी पुस्तालाई प्रतिनिधित्व दिने तयारी रहेको पनि उहाँले बताउनुभयो ।

‘मंसिर मसान्तभित्रै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने मत बलियो रहेको छ, उहाँले भन्नुभयो, ‘आवश्यक परे विशेष महाधिवेशन बोलाउने प्रावधान पनि पार्टीको विधानमा छ ।’ समयमै उठेका आवाजलाई नसुन्दा नेताहरु ग्रेसफुल ऐक्जिटको साटो फोर्सफुल ऐक्जिटको बाटोमा पुगेको उहाँले दावी गर्नुभयो ।

यस्तै महामन्त्री शर्माले पार्टी सभापति शेरबहादुर देउवाको घरमा भेटिएको पैसाबारे बोल्दै सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरुकै आधारमा आम धारणा बनाउन नहुने बताउनुभयो । पैसाको विषयलाई सामाजिक सञ्जालमा मात्र अल्झाएर राख्नु उपयुक्त नहुने बताउँदै उनले निष्पक्ष अनुसन्धानमार्फत सत्य बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो ।

‘पैसा कहाँबाट कसरी आयो भन्ने जवाफ सभापतिको निवास वा सरकारले अनुसन्धानमार्फत दिनुपर्छ,’ उहाँले भन्नुभयो । २०४६ साल पछिका सबै नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने र आफू पनि छानबिनको दायरामा आउन तयार रहेको बताउनुभयो ।