हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा एकैदिन ४ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, काभ्रे र सिन्धुली जिल्लाका एकैदिन ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१६ मिलिजुली चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ९ बजेर २० मिनेटको समयमा ना २७ प ५०१४ नम्बरको मोटरसाइकल मिलिजुली चोकबाट नर्सरी चोकतर्फ जाँदै गरेको लु ३६ प ६५५१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
दुर्घटनामा ५०१४ नम्बरको मोटरसाइकल चालक २१ वर्षीय रोहित घले, ६५५१ नम्बरको मोटरसाइकल चालक २८ वर्षीय सुमन थापा घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएको थियो । उपचारको क्रममा सुमनको बिहान ९ बजेर ५० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ तमाघाट बजार नजिकै एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा पाँचखाल नगरपालिका–११ खरेलथोक बस्ने अन्दाजी ४० वर्षीय भीम रिमाल रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार बिहान ७ बजेर ४५ मिनेटको समयमा बोहोरेदोभान जाने सडक खण्डको नालीमा रिमाल घोप्टो अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–१ डाँडी काभ्रेबारीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा काभ्रेबारीकै ७१ वर्षीय नन्दलाल श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार दिउँसो ३ बजेको समयमा भित्री सडकको दायाँ छेउमा घोप्टो परेको अवस्थामा नन्दलाल मृत फेला परेका थिए । मुचुल्का पश्चात शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको जनाएको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–११ धनसरीमा सर्पले डसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय सागर भट्टराई रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार राती ११ बजेर ५० मिनेटको समयमा सागर आफ्नै कोठामा छटपटाइ रहेको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि सिरहाको फुलकुमारी मेमोरीयल अस्पताल कर्जना लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । अस्पतालमा कार्यरत प्राविधिक कर्मचारीका अनुसार मृतकको बायाँ खुट्टामा सर्पको डसेको डाम भेटिएको छ ।











