नेपालमा विभिन्न समयमा भएका परिवर्तनहरु जनताका वलिदान, शासकहरु विरुद्ध संघर्ष तथा जनताका होनहार सपुतहरुको शाहदतबाट भएका कुरामा कसैको पनि दुईमत छैन । २००७ सालमा राणाहरुको एकतन्त्रीय हुकुमी जहानिया शासन अन्त्य गर्नहोस् वा ३० वर्षे पञ्चायती निर्दलीय शासन व्यवस्था होस् अथवा २०६३/०६३ को राजसंस्था फाल्ने र गणतन्त्र स्थापना गर्ने जनआन्दोलन होस् सबै आन्दोलनहरु तत्कालिन राज्यसत्तामा रहेका शासकहरु विरुद्ध नै भएका छन् । यस्ता आन्दोलनहरु एउटा छुट्टै सरकार गठन, नयाँ संरचनासहित संविधान निर्माण र जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन संविधानमा प्रस्तावनामा लेख्ने काम गर्यौं भनेर शासकहरु रमाउन थाले । तर शासन व्यवस्थामा मात्र परिवर्तन आयो, जनताको दैनिक जीवन, शहिदहरुको योगदान र शहिद परिवारको चाहना र सुझावलाई सधैँ लत्याउने र जनभावनालाई कदर नगरी अगाडि बढ्ने कार्य त्यस बेलाका शासकहरुले मन पराए र त्यसैमा खुशी हुन थाले । जसको परिणाम स्वरुप देशमा भ्रष्टाचार मौलाउँदै गयो ।
अन्याय, अत्याचार, महंगी, बेथिति र कुशासनको जालो फैलिँदै गई युवा जनशक्तिमा व्यापक असन्तुष्टि जाग्न थाल्यो । हरेक उमेर समूहका नागरिकहरु र विभिन्न पेशाकर्मीहरुमा समेत नैराश्यता उत्पन्न भयो । यसकै कारण २०८२ भदौ २३ गते (सन् १९९७–२०२५ उमेर समूहका) २८ वर्ष मुनिका युवाले केपी ओली सरकारको विरुद्ध चुनौती दिँदै भ्रष्टाचारको अन्त्य हुनुपर्ने र हालको संविधानको खारेज, संसद विघटन गरी केपी ओली सरकारले पद छाड्नु पर्ने जस्ता माग राखी सडक आन्दोलन सुरु भयो । जुन आन्दोलनको नाम जेन जी आन्दोलन रहन गयो ।
२०४६ सालमा बहुदलीय व्यवस्था स्थापना पश्चात देशमा राजनैतिक दलहरुको नेतृत्वमा सरकार गठन हुँदै आयो । हरेक एकदेखि डेढ वर्षको अन्तरमा पालैपालो सत्ताको कुर्सीमा बसेर देशको अर्थतन्त्र खोक्रो बनाई भ्रष्टाचारको दलदलमा परेर पनि अकुत सम्पत्ति आर्जन गर्न छाडेनन् । राजनैतिक पार्र्टीहरुका बुढा नेताहरुको बारेमा हरेक चिया पसल, चोक–चोकमा नकारात्मक टिप्पणी गर्दा पनि यी दलका नेताहरुले बुझ्न सकेनन् । आफ्ना नेताहरुको जीवनशैली, आलिसान घरहरु र विलासिताको सामानको प्रयोगबारे कुनै पनि दलका कार्यकर्ताहरुले खबरदारी गरेनन् र साच्चिन सल्लाह दिने आँट गरेनन् । जसको परिणाम स्वरुप भ्रष्टाचारले सीमा नाघ्यो, सार्वजनिक सम्पत्ति (भूमि) माथि नेताहरुले आफ्नो हक अधिकार जमाएर, भिजिट भिसा प्रकरणमा व्यक्तिसँग पैसा असुलेर मनमौजी गरे र यस्ता काण्डै काण्डमा नाच्न र हाँस्न रमाए ।
जनतामा भने सधैँ निराशा, कुण्ठा र पीडाबोध गरेर बस्नु बाहेक अर्को विकल्प भएन । यतिसम्मकी वि.सं. २०४८ सालदेखि हरेक पार्टीका उही एउटै नेता पटके प्रधानमन्त्री र मन्त्रीहरु बन्नुपर्ने, जनताका नाममा भजन गाएर सधैँ आफ्नो व्यक्तिगत लाभमा रमाउने यी दलका नेताहरु जनताका २० वर्ष मुनिका छोराछोरीले भ्रष्टाचारको विरोध गर्दा, भ्रष्टाचारीको छानबिन हुनुपर्ने माग राखेर शान्तिपूर्ण आन्दोलन गर्दा गोली हान्ने आदेश दिएर सडकमा ढलेका शरीर हेर्न पुग्यौ । यस्तो शासकलाई क्रुर शासक नभनेर के भन्ने ?
अहिलेको अवस्था आउनुमा हाम्रो देशका तीन ठूला राष्ट्रिय दलका नेताहरु जो पटक–पटक गरी २ देखि ६ पल्टसम्म सरकारको नेतृत्व गरी शासन चलाइरहेका थिए । जनतामा यति धेरै वितृष्णा जाग्यो कि यी ठूला तीन पार्टीका मुख्य–मुख्य नेताहरुको विरुद्ध आफ्ना विचार व्यक्त गर्न थाले । सबै पेशाकर्मीहरु, पत्रकार, मानव अधिकारकर्मी, श्रमिकहरु वुद्धिजीवी सम्पूर्ण केपी ओली सरकारलाई सचेत गर्दा पनि सच्चिएनन् र भ्रष्टाचारी र मानव तस्करहरुको नाइकेको माली बनेर सत्ता लिप्सामा लागी रह्यो । आफ्नो जीवनमा अहिलेसम्म तीनवटा ठूला जनआन्दोलन प्रत्यक्ष देखेको यो लेखकको हेराइमा २०८२/५/२३ र २४ गतेको जेन जी पुस्ताले गरेको आन्दोलन छोटो समयमा नै राज्यसत्ता परिवर्तन भएको र सबै भन्दा बढी नागरिकले ज्यान गुमाउन पुग्नुभयो । वहाँहरु देशको सहिद बन्नुभयो । आन्दोलनलाई नजरअन्दाज गर्ने शासकहरु अन्ततः सत्ता छाडेर भाग्न बाध्य हुनुपहुँयो । यस्तो शासकलाई क्रुर शासक नभनेर के भन्ने ?










