हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–५, कर्रास्थित फोहर पानी प्रशोधन केन्द्र पुनः सञ्चालनका लागि छलफल गरेको छ । निर्माण भएको लामो समयसम्म सञ्चालनमा आउन नसकेको उक्त प्रशोधन केन्द्र अत्याधुनिक तरिकाले पुनः निर्माण गरी सञ्चालन गर्न सरोकारवालाहरुसँग छलफल गरिएको छ । उपमहानगरपालिकाले एकीकृत खानेपानी तथा ढल सुदृढ बनाउने उद्देश्यले बुधबार सरोकारवालाहरुसँग सार्वजनिक छलफल गरेको हो ।

सन् २०१० मा एसियाली विकास बैंकका सहयोगमा तत्कालीन केन्द्रीय सरकारले निर्माण गरेको सो फोहर पानी प्रशोधन केन्द्र सञ्चालन गर्दा दुर्गन्ध फैलिएको भनेर स्थानीयले बिरोध गरेपछि सञ्चालन रोकिएको थियो । निर्माणपछि प्रयोगबिहीन भइरहेको उक्त फोहर पानी प्रशोधन केन्द्रलाई सदुपयोेग गरेमा उपमहानगरपालिका क्षेत्रका भूमिगत नाला व्यवस्थापन र प्रशोधनपश्चात् निश्कासित पानीको व्यवस्थापन गर्न भविष्यमा निकै उपयोगी हुने भन्दै उपमहानगरपालिकाले पुनः यसलाई सञ्चालन गर्न तदारुकता देखाएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले जानकारी दिनुभयो ।

बुधबार सम्पन्न कार्यक्रममा अब बन्ने अत्याधुनिक प्रबिधियुक्त सो प्रशोधन केन्द्रबाट कुनै किसिमको दुर्गन्ध नआउने हुनुपर्ने, सो क्षेत्रलाई डुबानरहित बनाउनुपर्ने, बैकल्पिक नालाहरु कर्रा खोलासम्म राखिनुपर्ने लगायतका मागहरु स्थानीय बासिन्दाहरुले राखेका छन् । हेटौंडाको वडा नं ४ र ५ को सीमा क्षेत्रका बासिन्दाहरुलाई प्रभावित पार्न सक्ने भन्दै दुबै वडाका सरोकारवालाहरुले उच्च व्यवस्थापनमा मात्र प्रशोधन केन्द्र सञ्चालन गर्न माग गरेका छन् ।

संघीय राष्ट्रिय परियोजना अन्र्तगत १ अर्ब ३८ करोड रुपैयाँ बजेट पुनः निर्माणको लागि लागत अनुमान रहेको यस परियोजनामा हेटौंडा उपमहानगरपालिकाले २० प्रतिशत लागत ब्यहोर्ने उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले जानकारी दिनुभयो । यसअघि १४.२ किलोमिटर भूमिगत नाला निर्माण गरिसकेको हेटौंडा उपमहानगरपालिकाले यस बजेट अन्र्तगत नगर क्षेत्रभित्र ३५ किलोमिटर भूमिगत थप नाला पनि निर्माण गर्ने जानकारी दिएको छ । प्रशोधन केन्द्र तथा भूमिगत नाला यसै आर्थिक वर्षबाट निर्माण सुरु गरिने पनि कार्यक्रममा जनाइएको छ ।

सार्वजनिक छलफल कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, वडा नं ४ का अध्यक्ष नवीन सिग्देल, वडा नं ५ का अध्यक्ष सुशील घिमिरे, दुबै वडाका टोल विकास संस्थाका प्रतिनिधिहरु, स्थानीय विद्यालयका प्रतिनिधि र स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।