हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकको आवश्यकतालाई मध्यनजर गरेर काम गर्ने बताउनुभएको छ । सबै नागरिकका आवश्यकता अनुुसारको विकास तथा सेवालाई सरकारले प्राथमिकता दिने उहाँले बताउनुभयो ।
मुख्यमन्त्रीको निर्वाचन क्षेत्र मकवानपुर क्षेत्र नम्बर २ (२) स्थित मनहरी गाउँपालिकाले बुधबार आयोजना गरेको मुख्यमन्त्रीको स्वागत तथा तीज विशेष साँस्कृतिक कार्यक्रममा बोल्नुहुँदै बानियाँले विकासमा दलीय पक्षपातको अन्त्य गरिने दावी गर्नुभयो । उहाँले यो वा त्यो पार्टी नभनी समग्र प्रदेशको विकासमा गर्नु आफ्नो कर्तव्य रहेको बताउनुभयो । जनताको भोटको सम्मान गर्दै जनमुखी काम गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री बानियाँले गरिबमुखी, जनमुखी, आयमुखी र न्यायमुखी काम गरी प्रदेशको समग्र विकासमा काम गर्ने बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्रका जनताको भावना र मर्मलाई समेत मध्येनजर गर्दै निष्पक्ष ढंगबाट जिम्मेवारी पूरा गर्ने उहाँको भनाई छ ।
‘मनहरीका जनताले मलाई चुनाव जिताएर ठूलो योगदान गरेका छन् । जनताले विश्वासकै कारण म मुख्यमन्त्री बन्न सकेँ । अब सबै जनताको आवश्यकतालाई मध्यनजर गरी यो वा त्यो पार्टी नभनी विकास गर्नु मेरो कर्तव्य हो’, मुख्यमन्त्री बानियाँले भन्नुभयो, ‘मनहरी गाउँपालिकाको लामिटार–चकरी–मकरी सडकलाई विशेष प्राथमिकता दिई कालोपत्रेसँगै पूर्वाधार विकासमा प्राथमिकता दिनेछु ।’ कार्यक्रमकैबीच मनहरी गाउँपालिकाले आफ्नो क्षेत्रबाट निर्वाचित बानियाँ मुख्यमन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापनसहित सम्मानपत्रसमेत प्रदान गरेको छ । मुख्यमन्त्री बानियाँले बुधबार नै मनहरीस्थित आफ्नो निर्वाचन क्षेत्रमा रहेको सम्पर्क कार्यालयमा पुगी आम नागरिकका समस्या र गुनासा सुन्नुभएको थियो ।











