हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५, बुङ्दलमा प्यारालाइसिसले थलिएकी श्रीमतिको घाँटी थिचेर हत्या गरिएको छ । माइतीमै बस्दै आएकी ४० वर्षीय दुर्गालक्ष्मी शिवभक्तीलाई शनिबार बिहान ६ बजेको समयमा ४५ वर्षीय मानबहादुर शिवभक्तीले हत्या गरेका हुन् ।
बोल्न नसक्ने दुर्गालक्ष्मी उच्च रक्तचापका कारण २ वर्षदेखि प्यारालाइसिस पीडित समेत थिइन् । माइतीमै बस्दै आएकी दुर्गालक्ष्मीको उपचार सम्भव नभएपछि स्थानीयको सहयोगमा जसोतसो गुजारा गर्दै आएकी दुर्गालक्ष्मीको हत्या गरी मानबहादुरले आत्महत्या प्रयास समेत गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार दीर्घरोग पीडित श्रीमतिको हत्यापछि आत्महत्या प्रयास गरेका मानबहादुरले आत्महत्या गर्न प्रयोग गरेको डोरी चुँडिएपछि प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।
मानबहादुर शनिबार बिहान साढे ८ बजे नै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा हाजिर भइसकेका थिए । मकवानपुरगढी–५ का वडाध्यक्ष दिपेश दाहालका अनुसार विपन्न परिवारमा दुर्गालक्ष्मी दीर्घरोगी रहेको २२ वर्षीय जेठो छोरा पनि रुखबाट लडेर घाइते छन् । मकवानपुरगढीमै रहेको बाख्रा फार्ममा काम गर्ने जेठो छोरा ३ महिनादेखि उपचाररत रहेको वडाध्यक्ष दाहालले जानकारी दिनुभयो । ‘राम्रो बोल्न पनि नसक्ने दुर्गालक्ष्मी दीर्घरोगी भएको, जेठो छोरा पनि घाइते भएपछि स्थानीयले सहयोग गर्दै आएका थिए’, वडाध्यक्ष दाहालले भन्नुभयो, ‘माइतीमै जसोतसो बस्दै आएकी दुर्गालक्ष्मीलाई भीमफेदी गाउँपालिका–१ घर भएका श्रीमान् केही दिन अघि मात्रै ससुराली आएर बसेका थिए । आज (शनिबार) बिहान एक्कासी दुखद् घटना सुन्नु पर्यो ।’ प्रहरीले मानबहादुरलाई नियन्त्रणमा लिएर कारवाही अगाडि बढाएको जनाएको छ ।










