बागमती प्रदेश सदस्य एवम् कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृण चित्रकार

हेटौँडा : मुख्यमन्त्री बहादुर सिंह लामाले मंगलबार भएको मत विभाजनमा संसदीय दलको नेताको हैसियत गुमाएसंगै पुनः दलको निर्वाचन प्रक्रिया थालिएको छ । स्पष्ट २ धार देखिएको कांग्रेस बागमती प्रदेश संसदीय दलमा दुवै पक्षले आफ्ना उम्मेदवार उठाउने निश्कर्षमा पुगेका छन् ।

मुख्यमन्त्री लामा विरुद्धको संसदीय दलको नेतामा परेको अविश्वास प्रस्ताव पास भएसंगै कांग्रेस बागमतीको २ धार निर्वाचनको तयारीमा जुटेको हो । मत विभाजनमा लामाको पक्षमा १५ र विपक्षमा २२ मतपरेको थियो । उक्त २२ मत कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई दलको नेता बनाउन माग गरेर खुलेका हुन् । यद्यपी मुख्यमन्त्री लामा पक्ष पनि दलको निर्वाचनमा उम्मेदवारी दिएर अघि बढ्ने रणनितामा देखिएको छ ।

बागमती प्रदेश सदस्य एवम् कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृण चित्रकारले संसदीय दलको निर्वाचनमा एकल उम्मेदवारी कायम नहुने बताउनुभयो । सभापति बानियाँलाई सर्वसम्मत दलको नेता बन्न नदिनेरणनीति सहित एकल उम्मेदवारी कायम हुन नदिने सो समुहको निश्कर्ष रहेको उहाँले बताउनुभयो ।

निर्वाचन प्रक्रिया थालेसंगै सभापति बानियाँले आफ्नो उम्मेदवारी हाल्नेछन् भने उनी विरुद्ध मुख्यमन्त्री लामा पक्षबाट पनि उम्मेवारी पर्ने सांसद चित्रकारको भनाई छ । मुख्यमन्त्री लामाको समुहबाट जो कोही पनि दलको नेताको उम्मेदवार बन्न सक्ने उहाँले बताउनुभयो । मुख्यमन्त्री लामा स्वयमले चाहेको ण्डमा पनि उनी उम्मेदवार बन्न सक्ने सांसद चित्रकारको भनाई छ । आफ्नो समुअबाट छलफल गरेर निर्णय लिइने उहाँले बताउनुभयो ।

‘संसदीय दलको नेताका लागि निर्वाचनको तयार भइरहेको छ । सो निर्वाचनमा उम्मेदवार एउटै मात्र हुँदैन। हामी आन्तरिक छलफलमा छौं । हामीले १५ जना सांसद होल्ड गरेको अवस्था हो । हामी निर्वाचनको विषयमा छलफल गरेर अघि बढ्छौं । सो छफलको निर्णय अनुसार हामी मध्येमा जो कोही पनि उम्मेदवार हुन सक्छ।’ उनले भने, ‘हाम्रो विचार समूहमा सल्लाह अनुसार उम्मेदवार तय हुन्छ । त्यसमा मुख्यमन्त्री बहादुर सिंह लामाको पनि चासो हुन सक्छ । उहाँ पनि उम्मेदवार बन्न नसक्नुहुन्छ । उहाँले इच्छा राख्न सक्ने स्थिति पनि हुन सक्छ । उहाँसँग कुरा भएको छैन । अरु कसैले गर्न सक्ने स्थिति पनि हुन सक्छ । हाम्रो विचार समूहमा सल्लाह भएको छैन । अहिले भर्खर संसदीय दलको बैठक सकियो । हामीले एउटा विषयलाई मत विभाजन गरेर टुंग्याएका छौं । त्यसपछिको प्रक्रिया पनि सुरु हुन बाँकी नै रहेको छ । अहिलेसम्म टुंग्या छैन । तर सहमतिका साथ हुन्छ ।’