हेटौँडा : राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले हेटौडा–९ को कर्णावती छ्योदेन गुम्बा परिसरमा वृक्षरोपण गरेको छ । युवा संघको एक महिने वृक्षरोपण अभियान अन्तर्गत शनिबार मकवानपुर जिल्ला कमिटीको आयोजनामा वृक्षरोपण भएको हो ।
गुम्बा परिसरमा खाली रहेको जमिनमा कागती, अम्बा, लिच्ची, जामुन, तेजपत्ता लगायत फलफुल जातका १ सय भन्दा बढी बिरुवा रोपिएको हो । राष्ट्रिय युवा संघ नेपाल मकवानपुरका अध्यक्ष राजेश नगरकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, एमाले जिल्ला कमिटी उपाध्यक्ष हिदम लामा, सचिव सीता बिष्ट, उपसचिव आरती पाठक र फूर्वा दोर्जे लामा, युवा संघका केन्द्रीय कमिटी सदस्य एवम् मकवानपुर इन्चार्ज प्रतिमा श्रेष्ठ केन्द्रीय सदस्य सागर पाण्डे, हेटौँडा–९ का वडाअध्यक्ष सुकराम केसी, १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तान लगायत युवाहरूको सहभागिता रहेको थियो ।
‘हरियाली हाम्रो पहिचान, वृक्षरोपण हाम्रो अभियान’ भन्ने नारासहित राष्ट्रिय युवा संघ नेपालले असार १४ गतेदेखि साउन १४ गते १ महिनालाई विशेष अभियानका साथ वृक्षरोपण अभियान चलाएको युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटीले जानकारी दिनुभयो । नगरकोटीका अनुसार युवा संघ थाहा नगर कमिटीले पनि शनिबार नै पालुङमा वृक्षरोपण गरेको छ ।










