हेटौँडा : बागमती प्रदेश सरकारका चार मन्त्रीले शुक्रबार राजिनामा दिएका छन् । राजिनामा दिने चारै जना कांग्रेसबाट मन्त्री बनेका हुन् ।
बागमती सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसबाट सरकारमा ८ जना सामेल छन् । तीमध्ये चार जनाले राजिनामा दिएका हुन् ।
राजिनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् ।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउने पहलस्वरुप चार मन्त्रीले राजीनामा दिएको स्रोतले जनाएको छ ।
संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियाका लागि कांग्रेस सांसदहरूले प्रक्रिया अघि बढाएका छन् । यसका लागि ३७ जना प्रदेश सभा सदस्य रहेको कांग्रेस संसदीय दलमा २४ जनाले हस्ताक्षर बुझाएका छन् । यस सम्बन्धमा कांग्रेस प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री लामालाई ह्वाट्स एपमार्फत जानकारी पठाएका छन् ।











