फाइल तस्वीर ।

हेटौंडा : मकवानपुर जिल्लाको ८ वटा पालिकाले शैक्षिक क्यालेण्डरअनुसार नै पहिलो त्रैमासिक परीक्षा गर्ने भएको छ । २ वटा पालिकाले विद्यालयहरुलाई नै परीक्षा सञ्चालन गर्न दिने भएको छ ।
मकवानपुरको मनहरी गाउँपालिकाका विद्यालयमा यसवर्ष पहिलो त्रैमासिक परीक्षा साउन १ गतेबाट सुरु हुने भएको छ । पालिकाका शिक्षा शाखा प्रमुख प्रदिप पराजुलीका अनुसार परीक्षा पालिकाले वितरण गरेको शैक्षिक क्यालेण्डरअनुसार नै हुन लागेको हो । साउन १ गतेबाट सुरु हुने परीक्षा ८ गते सकिने छ । पालिकामा ३२ वटा सामुदायिक विद्यालय रहेका छन् । पालिकाभित्र १७ वटा प्रावि, ५ वटा निमावि र १० वटा मावि रहेका छन् । यस वर्ष विद्यालयमा ८ हजार जना विद्यार्थी भर्ना भएका छन् ।

भीमफेदी गाउँपालिकाका विद्यालयमा पहिलो त्रैमासिक परीक्षा असारको २७ गतेबाट सुरु हुने भएको छ । पालिकाका शिक्षा शाखा प्रमुख चक्र साउदका अनुसार परीक्षा शैक्षिक क्यालेण्डरअनुसार नै हुन लागेको हो । २७ गतेबाट सुरु भएको परीक्षा साउनको २ गतेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । वर्षे विदा साउन ४ गतेदेखि ३० गतेसम्म हुनेछ भने भदौ १ गतेबाट कक्षा सञ्चालन हुने साउदले बताउनुभयो । प्रावि ३२, निमावि १४ र मावि ८ वटा गरी ५४ वटा विद्यालय रहेका छन् । यसवर्ष विद्यालयमा हालसम्म ४ हजार ३८ जना विद्यार्थी भर्ना भएका छन् ।

बकैया गाउँपालिकामा पहिलो त्रैमासिक परीक्षा विद्यालयले आफैँ लिने भएको छ । पालिकाका शिक्षा शाखा प्रमुख आइतराम तामाङका अनुसार यसवर्ष शिक्षक आन्दोलनका कारण पठनपाठन प्रभावित भएकाले विद्यालयलाई समयानुकूल परीक्षा लिन भनिएको हो । पालिकाले यसवर्ष शैक्षिक क्यालेण्डर निर्माण र वितरण नगरेको तामाङले बताउनु भयो । वर्षे विदाको अवधि पनि विद्यालयले नै तय गर्नेछ । पालिकामा १२ मावि, १२ वटा निमावि र ४२ वटा प्रावि रहेका छन् । यसवर्ष ८ हजार ४३१ जना विद्यार्थी भर्ना भएका छन् ।

राक्सिराङ गाउँपालिकामा पनि पहिलो त्रैमासिक परीक्षा विद्यालयले आफैँ लिने भएको छ । पालिकाका शिक्षा शाखा प्रमुख पंकज थारुका अनुसार विद्यालयलाई समयानुकूल परीक्षा लिन भनिएको छ । पालिकाको क्यालेण्डरअनुसार असार २५ गतेदेखि ३२ गतेसम्म परीक्षा सञ्चालन गर्ने तालिका रहे पनि विद्यालयलाई नै परीक्षा सञ्चालन गर्न अनुमति दिएको उहाँले बताउनुभयो । पालिकामा ६ मावि, ९ वटा निमावि र ३५ वटा प्रावि रहेका छन् । यसवर्ष ६ हजार २०४ जना विद्यार्थी भर्ना भएका छन् ।

हेटौँडा उपमहानगरपालिकाका विद्यालयहरुमा साउनको ६ गतेबाट त्रैमासिक परीक्षा सञ्चालन हुने भएको छ । शिक्षक आन्दोलका कारण विद्यालय ढिलो सञ्चालनमा आएकाले परीक्षा ढिला गर्न लागिएको शिक्षा विकास महाशाखाका अधिकृत रमेश बिडारीले जानकारी दिनुभयो ।

मकवानपुरगढी गाउँपालिकाका विद्यालयमा असार ३१ गतेबाट परीक्षा सुरु हुने भएको छ । पालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलानका अनुसार परीक्षा शैक्षिक क्यालेण्डरअनुसार नै हुन लागेको हो । असार ३१ गतेबाट सुरु हुने परीक्षा साउन ७ गतेसम्म सञ्चालन हुनेछ । पालिका भित्र १० वटा मावि, ७ वटा निमावि र २० वटा प्रावि गरी ३७ वटा विद्यालय रहेका छन् । यसवर्ष ५ हजार २९ जना विद्यार्थी भर्ना भएको शिक्षा शाखा प्रमुख घलानले जानकारी दिनुभयो ।

बागमती गाउँपालिकाका विद्यालयमा असार २५ गते बुधबारबाट पहिलो त्रैमासिक परीक्षा सुरु हुने भएको छ । पालिकाका शिक्षा शाखा प्रमुख प्रकाश चन्दका अनुसार बुधबारबाट सुरु भएको परीक्षा असार ३२ गतेसम्म सञ्चालन हुनेछ । विद्यालयले शैक्षिक क्यालेण्डरअनुसार नै परीक्षा सञ्चालन गर्न लागेको हो । पालिकाभित्र ५ मावि, ११ वटा निमावि र ३४ वटा प्रावि गरी ५० वटा विद्यालय रहेका छन् । यसवर्ष ३ हजार ५ सय जना विद्यार्थी भर्ना भएका छन् । साउन १ गतेबाट वर्षे विदा हुनेछ भने साउनको १८ गतेबाट पठपाठन पुनः सञ्चालनमा आउनेछ ।

थाहा नगरपालिकाका विद्यालयमा असार २९ गतेबाट पहिला त्रैमासिक परीक्षा हुने भएको छ । पालिकाका शिक्षा शाखा प्रमुख माधवविक्रम मल्लका अनुसार २९ गतेबाट सुरु हुने परीक्षा साउन ६ गतेसम्म सञ्चालन हुनेछ । विद्यालयले शैक्षिक क्यालेण्डरअनुसार नै परीक्षा सञ्चालन गर्न लागेको मल्लले जानकारी दिनुभयो । वर्षे विदापश्चात् भदौ १ गतेबाट नियमित कक्षा सञ्चालन हुनेछ । पालिकाभित्र १७ वटा मावि, १० वटा निमावि, ३२ वटा प्रावि र ४ वटा मन्टेश्वरी सञ्चालनमा रहेको छ । यस वर्ष ९ हजार ५ सय जना विद्यार्थी भर्ना भएका छन् ।

इन्द्रसरोबर गाउँपालिकाका विद्यालयमा साउन २ गतेबाट पहिलो त्रैमासिक परीक्षा सुरु हुनेछ । पालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तका अनुसार २ गतेबाट सुरु भएको परीक्षा साउन ९ गतेसम्म सञ्चालन हुनेछ । विद्यालयले शैक्षिक क्यालेण्डरअनुसार नै परीक्षा सञ्चालन गर्न लागेको पन्तले जानकारी दिनुभयो । वर्षे विदापश्चात् भदौ १ गतेबाट नियमित कक्षा सञ्चालन हुनेछ । पालिकाममा ६ वटा मावि, एउटा निमावि र १३ वटा प्रावि गरी २० वटा विद्यालय रहेका छन् ।

कैलाश गाउँपालिकाका विद्यालयमा पहिलो त्रैमासिक परीक्षा आइतबारबाट सुरु भएको छ । आइतबारबाट सञ्चालन भएको परीक्षा ३० गतेसम्म हुने पालिकाका शिक्षा शाखा प्रमुख समीर जोशीले जानकारी दिनुभयो । परीक्षा शैक्षिक क्यालेण्डरअनुसार भएको उहाँले जानकारी दिनुभयो । पछिल्लो वर्षदेखि गाउँपालिकाले नै परीक्षा सञ्चालन गर्दै आएकाले परीक्षा क्यालेण्डरअनुसार नै सञ्चालन भएको हो । शिक्षा शाखा प्रमुख जोशीका अनुसार यसवर्ष परीक्षापश्चात् अतिरिक्त कक्षा सञ्चालन हुँदैन । विद्यालय साउन २६ गतेबाट खुल्ने उहाँले जानकारी दिनुभयो । ६ वटा मावि, ४ निमावि र ३३ वटा प्रावि गरी ४३ वटा विद्यालय रहेका छन् । गाउँपालिकाका विद्यालयमा हाल ५ हजार जना विद्यार्थी अध्ययनरत रहेका छन् । गत वर्षको तुलनामा यस वर्ष ३ सय जना विद्यार्थी कम भर्ना भएका छन् ।