आन्दोलित चिकित्सकको समूह ।

हेटौँडा : गत चैतमा गठन भएको उपभोक्ता अदालतका आदेशलाई लिएर चिकित्सकहरुले आन्दोलन गरेका छन् । नेपाल चिकित्सक संघको आव्हानमा आज सोमबार देशभर स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा अवरुद्ध भएको छ । नेपाल चिकित्सक संघको आव्हान मकवानपुरका अस्पतालहरुले पनि आज आकस्मिक बाहेकका सेवा रोकेका छन् ।

जेठ २९ गतेयता उपभोक्ता अदालतले ३ वटा फैसलामा ५० लाख भन्दा बढी क्षतिपूर्ति भराउने आदेशसँगै चिकित्सकहरु आन्दोलित भएका हुन् ।
जेठ २९ गते काठमाडौंको ओम अस्पताललाई ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला उपभोक्ता अदालतले गरेको थियो । यस्तै असार ५ गते ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश उपभोक्ता अदालतले गरेको छ । पछिल्लो घटनामा भने उपभोक्ता अदालतले एक करोड ४५ लाख ४४ हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश गरेको छ ।

उल्लेखित तीन घटनाबाट चिकित्सकहरु त्रसित हुँदै आन्दोलित भएका हुन् । नेपाल चिकित्सक संघ मकवानपुर जिल्ला समितिका सचिव डा. राजु सेढाईले चिकित्सकले चाहेर पनि कसैको ज्यान जोखिममा नपार्ने, बरु ज्यान बचाउने अवस्था रहने उल्लेख गर्नुहुँदै स्वास्थ्य सेवा जस्तो क्षेत्रलाई अन्य उपभोग्य वस्तु जस्तो ठानेर उपभोक्ता अदालतबाट न्याय खोज्नु उचित नहुने दावी गर्नुभयो । चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा प्रवाहमा कुनै किसिमको समस्या भए मेडिकल काउन्सिलमार्फत समाधानको प्रयास खोजिनुपर्ने डा. सेढाईको भनाई छ ।