समुदायलाई प्रयोग गर्ने गरी हस्तान्तरण एवम् खुला गरिएको झोलुङ्गे पुल ।

हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–७ स्थित हर्दा र चुनढुङ्गा बीच निर्माण गरिएको झोलुङ्गे पुल स्थानीयलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ । राडो नेपालको सहकार्यमा निर्माण गरिएको झोलुङ्गे पुल शनिबार समुदायलाई हस्तान्तरण गरिएको हो ।

सघींय सरकारको ८५ प्रतिशत, गाउँपालिकाको १३ प्रतिशत र स्थानीयको २ प्रतिशत लागतमा पुल निर्माण भएको हो । पुुल निर्माणमा ग्रामिण जागरण तथा विकास संगठन नेपाल (राडो नेपाल) को सामाजिक र प्राविधिक सहयोगमा भएको राडो नेपालकका प्राविधिक अधिकृत उमेश तामाङले जानकारी दिनुभयो । पुल ६० लाख १७ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको तामाङले बताउनुभयो ।

उक्त पुल निर्माणसँगै हार्दा–चुनढुङ्गा बस्तीबीचको आवागमन सहज भएको छ । स्थानीयवासीहरूले लामो समयदेखि दैनिक आवतजावतमा भोग्दै आएको कठिनाइ अन्त्य भएको भन्दै पुल निर्माणमा योगदान गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । झुलुङ्गे पुल निर्माण समिति अध्यक्ष मदनकुमार लोप्चनको सभाध्यक्षता र बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडासदस्य बिष्णुकुमारी बिक, मोहन कुमार यादव, सरोज यादव, राडो नेपालका प्रतिनिधिहरू श्याम दाहाल, अर्जुनप्रसाद घोरासाईनीलगायत स्थानीय अगुवा, शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।