नेपालमा बैशाखबाट नयाँ वर्ष सुरु भए पनि आर्थिक वर्ष भने साउन महिनाबाट सुरु हुन्छ । हरेक आर्थिक वर्षको अन्तिम महिना असार हो । असारमा आर्थिक वर्ष समाप्त हुने भएकाले यस महिनामा जताततै विकास निर्माण र अन्य कार्यक्रमले तिब्रता पाउने गरेको छ । निर्धारित कार्यक्रमका लागि विनियोजित बजेट खर्च गर्नकै लागि आर्थिक वर्षको अन्तिममा काम गर्ने परिपाटीलाई असारे विकास भनिन्छ । सरकारले कुनै आर्थिक वर्षभित्र काम गर्ने गरी विनियोजन गरेको बजेट सोही वर्षभित्र खर्च गर्नुपर्छ । बजेट खर्च नभएमा उक्त योजना वा कार्यक्रम खारेज हुने र बजेट फ्रिज हुने गर्दछ । काम पनि नहुने र बजेटसमेत खेर जाने भएपछि हतारमा काम गर्दा गुणस्तर कमजोर हुनुका साथै खर्च गरिएको रकम बालुवामा पानी हालेजस्तै भइरहेको छ ।

एउटा आर्थिक वर्षका लागि विकास निर्माणका लागि विनियोजित बजेटको ठूलो हिस्सा आर्थिक वर्षको अन्तिममा खर्च गरेर गरिने असारे विकासको फाइदाभन्दा बढी ‘साइड इफेक्ट’ देखिने गरेका छन् । अहिले गाउँ, शहर जताततै असारे विकासका थुप्रै नमुना देख्न पाइन्छ । यस्तो विकासका कारण स्थानीयले दुःख र सास्तीमात्र पाइरहेका छैनन्, ज्यानसमेत जाने गरेको छ । समयमा काम नगरेर असार कुर्ने परिपाटीले विवाद बढाउनेमात्र नभई हातपातका घटनासमेत भइरहेका छन् । केही दिनअघि हेटौंडाको राप्तीरोडमा ढल निकासको लागि सडक खनेर महिनौंसम्म अलपत्र पार्दा एकजनाको मृत्युको कारण बन्यो । सडक भत्काएकै ठाउँमा मोटरसाइकल दुर्घटना भएर राक्सिराङका एक जना प्रधानाध्यापकको मृत्यु भएको हो । धेरै समयदेखि अलपत्र पारिएको हेटौंडा–४ को एउटा सडकको नाली खन्ने क्रममा निर्माण व्यवसायी र वडा अध्यक्षबिच विवाद हुँदा वडा अध्यक्षमाथि हातपात भएको थियो ।

आर्थिक वर्षको अन्तिमसम्म जसरी पनि बजेट सक्नुपर्ने चटारोका कारण जेठ, असारमा जताततै सडक, नाली, फुटपाथ, पुल, कुलो, भवनजस्ता पूर्वाधार निर्माणको कामले तिब्रता पाउँछ । काम सुरु गरेर लामो समयसम्म काम अलपत्र छाड्दा स्थानीय बासिन्दादेखि व्यवसायी, यातायातकर्मी, यात्रु, सर्वसाधारण सबैले दुःख र सास्ती पाउँछन् । असारमा हतारहतार काम गरेर भुक्तानी लिने गरिन्छ । लटरपटर काम गरेर भुक्तानी लिने र कामको अनुगमन र गुणस्तर परीक्षणबिना भुक्तानी दिने गरिन्छ । यसबाट कामै नगरी भुक्तानी लिने र कमिशन लिएर भुक्तानी दिने जोखिम बढी हुन्छ । निर्माण गरिएका संरचना गुणस्तरहीन भएर चाँडै बिग्रने वा प्रयोगविहीन हुने र जनताले तिरेको करबाट राज्यले गर्ने खर्च दुरुपयोग हुने गर्दछ ।

कुनै पनि काम तोकिएकोमा समयमा नहुने र समय बित्न लागेपछि हतारहतार गर्ने परम्पराले बजेट सक्ने काममात्र भइरेको छ । सरकारी निकायबाट हुने विकास निर्माणका काममा मात्र नभई तालिम, गोष्ठी, महोत्सव, अनुगमन, भ्रमण, अनुदान तथा सामग्री वितरणलगायत सबै कार्यमा असारे विकास हावी बन्दै गएको छ । सीमित व्यक्तिलाई आर्थिक लाभबाहेक असारे विकासको धेरै नकारात्मक असर अर्थात् ‘साइड इफेक्ट’ छन्, जसको अन्त्य आवश्यक छ । असारे विकासका रुपमा गरिएका अधिकांश कामको प्रतिफल बालुवामा पानी हालेजस्तै भइरहेको छ । गरिएका काम वर्षाको भेलसँगै बगेका र भत्किएका थुप्रै उदाहरण छन् । विकासे बजेट आर्थिक वर्षको अन्तिममा सक्नुपर्ने बाध्यात्मक व्यवस्था अन्त्य नहुँदासम्म कामको गुणस्तरभन्दा बजेट सक्न बढी ध्यान जाने निश्चित छ । असारे विकासको साइड इफेक्ट हटाउन आर्थिक वर्षको सुरुवातमै विकास निर्माणको काम सुरु गरेर समयमै सक्ने नीतिगत तथा कानुनी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्छ ।