एसईईमा अधिकतम् अंक ४ जीपीए ल्याउने मकवानपुरका ५ विद्यार्थी ।

हेटौँडा : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुरका ५ जना विद्यार्थीले अधिकतम् अंक ४ जीपीए ल्याएका छन् । शुक्रबार सार्वजनिक भएको नतीजा अनुसार हेटौँडा–४ स्थित नवोदय शिशु सदनका २ जना, हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, हेटौँडा–५ स्थित बालज्योति मावि र हेटौँडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका १/१ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।

नवोदय शिशु सदनका विमर्श श्रेष्ठ र अनुषा उप्रेती, बालजागृतिकी अनुप्रस्था देवकोटा, बालज्योतिकी अस्मिता घिमिरे र सोलिड्यारिटीका सचिन कुमार यादवले ४ जीपीए ल्याएका हुन् । २०८१ सालको एसईईमा मकवानपुरका ४६.८६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । परीक्षामा सहभागी ५ हजार ८ सय ८७ जना विद्यार्थी मध्ये २ हजार ७ सय ५९ जना मात्रै ग्रेडेड भएका छन् भने ३ हजार १ सय २८ जना विद्यार्थी ननग्रेडेड छन् ।

५ जनाले जीपीए ४ ल्याउँदा ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ३ सय ७८ जना छन् । ३.२ जीपीएदेखि ३.६ जीपीए ल्याउने ८ सय २ जना विद्यार्थी छन् भने २.८ जीपीएदेखि ३.२ जीपीए ल्याउने ९ सय ८१ जना विद्यार्थी छन् । २.४ जीपीएदेखि २.८ जीपीए ल्याउने ५ सय ३९ जना छन् भने २.० जीपीएदेखि २.४ जीपीए ल्याउने ५४ जना छन् ।