दुर्घटनामा ज्यान गुमाउने एकै परिवारका मैयाकुमारी, रेनुका र सरोज ।

हेटौँडा : दोस्रो सन्तान जन्माउनका लागि चितवनस्थित भरतपुर अस्पताल जाँदै गरेकी हेटौँडा–५ की २७ वर्षीया रेनुका कँडेल पहाडीले श्रीमान ३५ वर्षीय सरोज र सासुआमा ५५ वर्षीया मैयाकुमारीसँगै ज्यान गुमाएकी छिन् ।

शनिबार बिहान १० बजेर १५ मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन जिल्लाको राप्ती नगरपालिका–४ मा हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको रेनुका सवार माइक्रोबस धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नब्बरको यात्रुबाहक बस आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

हेटौँडामै नियमित स्वास्थ्य जाँच गराउँदै आएकी रेनुका सन्तान जन्माउनका लागि भनेर परिवारसहित चितवन जाँदै थिइन् । चिकित्सकले रेनुकाको सुत्केरी हुने मिति आइतबार तोकिदिएको थियो । रेनुकाका श्रीमान सरोजलाई मामा नवराज पहाडीले आफ्नो गाडी लिएर जान समेत भन्नुभएको थियो । तर, सरोजले सुत्केरी भएपछि २÷४ दिन अस्पतालमै बस्नुपर्ने हुन सक्छ भन्दै सार्वजनिक माइक्रोबसमा यात्रा गर्ने निर्णय लिएका थिए । ३ वर्षीया छोरीलाई बुबासँग घरमै छाडेर गर्भवती श्रीमतिसँगै आमालाई साथी लिएर भरतपुर हिँडेका सरोजले दोस्रो सन्तानको हेर्ने सपना पूरा गर्न पाएनन् । उल्टै गर्भमा रहेको भ्रूणसँगै श्रीमति र आमाको साथमा ज्यान गुमाउन बाध्य भए ।

बिहानै भान्जालाई आफ्नो साधन लिएर जान भन्नुभएका नवराजले दिउँसो आफ्नी दिदी, भाञ्जा र भाञ्जी बुहारीको शव सनाखत गर्न चितवन पुग्नुभएको छ । श्रीमति, छोरा, बुहारी र गर्भमा रहेको नाती पुस्ताको एक चिहान हुँदा रेवती पहाडी अचेत अवस्थामा रहेको छिमेकी विजय पुडासैनीले जानकारी दिनुभएको छ । ‘श्रीमति, छोरा, बुहारी र गर्भमा रहेको भ्रूण पनि गुमाउनुपरेपछि बुबा रेवत िपहाडी अचेत हुनुभएको छ । बेलाबेलामा बर्बराइरहनुभएको छ’, छिमेकमा बज्रपात परेपछि चितवन पुग्नुभएका विजय पुडासैनीले भन्नुभयो, ‘रेवती सर अचेत हुनुहुन्छ । पहाडी परिवारमा ठूलो दुर्घटना भो । हामी पनि शोकमा छौं ।’

दुर्घटनामा परी हेटौँडा–४ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, माइक्रोबस चालक हेटौँडा–१० का ३१ वर्षीय राजु थिङ र रौतहट जिल्लाको चन्द्रनिगाहपुर–६ की ३५ वर्षीया सीता चौधरीको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु भएकी एक युवतीको सनाखत हुन सकेको छैन । अन्दाजी १९ वर्षीय युवतीको सनाखत हुन नसकेको प्रहरीले उल्लेख गरेको छ । चितवन प्रहरीले रुपाखेतीको ठेगाना साविक हटिया गाविस–३ उल्लेख गरे पनि उनी हाल हेटौँडा–४ मा बस्दै आएका थिए ।

दुर्घटनामा परी घाइते भएकाहरु भरतपुरस्थित पुरानो मेडिकल कलेज, एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ । घाइते मध्ये हेटौँडा–४ का ३१ वर्षीय विष्णु लम्साल, हेटौँडा–१२ का ३२ वर्षीय सिंहवीर घलान र हेटौँडा–१३ का १६ वर्षीय सक्षम थापा मध्यम घाइते रहेको प्रहरीले उल्लेख गरेको छ । हेटौँडा–८ की ३४ वर्षीया गंगा घलान गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

बस चालक मोरङ जिल्लाको बेलबारी नगरपालिका–७ का २७ वर्षीय सुमन चौधरी प्रहरी नियन्त्रणमा रहेको छ । बस चालक चौधरी सामान्य घाइते भएको र उपचारपछि डिस्चार्ज भएर प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।