नगरप्रमुख मीनाकुमारी लामालाई ध्यानाकर्षणपत्र बुझाउँदै शिक्षक संगठनका पदाधिकारीहरु ।

हेटौँडा : एकीकृत अखिल नेपाल शिक्षक संगठन नगर कार्यसमिति हेटौँडाले हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामालाई ध्यानाकर्षणपत्र बुझाएको छ । शुक्रबार संगठनका अध्यक्ष विष्णुहरि गौतमसहितको टोलीले नगरप्रमुख लामालाई पालिकाले शिक्षा क्षेत्रमा गरेको असल अभ्यास र आगामी दिनमा गर्न बाँकी सुधारका माग राख्दै ध्यानाकर्षणपत्र बुझाएको हो ।

नगरपालिकाले शिक्षामा गरेका असल अभ्यासहरुको कदर गर्दै आगामी दिनमा पालिका भित्रको कुनै एक सामुदायिक विद्यालयलाई नमुना घोषणा गर्न, भौगोलिक कठिनाईका कारण पठनपाठनमा असुविधा भएका बालबालिकालाई आवासीय सुविधासहित छात्रवास वा बसको व्यवस्था गर्न, खेलकुद शिक्षकको व्यवस्था गर्न, इसिडि शिक्षकलाई प्राथमिक शिक्षक सरह सेवासुविधा उपलब्ध गराउन माग गरिएको छ ।

यस्तै दिवा खाजाको मूल्य ३० रुपैयाँ उपलब्ध गराउन र १–८ कक्षासम्म व्यवस्था गर्न, एक शिक्षक एक ल्यापटप, शिक्षक, कर्मचारीलाई पेशागत तथा क्षमता विकास तालिमको व्यवस्था गर्न, आधारभूत विद्यालयमा स्वास्थ्यकर्मी तथा औषधि व्यवस्था गर्न, स्थायी दरबन्दीसहितको तहगत प्रधानाध्यापकको व्यवस्था गर्न, शिक्षकलाई उचित खाजा भत्ताको व्यवस्था गर्न, ४ कक्षादेखि ९ र ११ कक्षाको सम्पूर्ण परीक्षा तथा कक्षा १० र १२ को त्रैमासिक तथा अर्धवार्षिक परीक्षाको प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका छपाई उपमहानगरपालिकाको लागतमा हुनुपर्ने तगायतका माग राख्दै नगरप्रमुलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

संगठनले महिला शिक्षक सुत्केरी विदामा रहँदा सट्टा शिक्षकको व्यवस्था गर्नु, शिक्षक बैंकको व्यवस्था गर्नु, न्यून विद्यार्थी भएका विद्यालय मर्ज गर्नु, एसईईमा ननग्रेडेड विद्यार्थीका लागि निशूल्क तयारी कक्षा सञ्चालन गर्नुलाई उपमहानगरको असल अभ्यासको रुपमा औँल्याइएको छ ।